अकर्मण्यताको भूमरीमा शेयर बजार
— कुल थापा
Investopaper, श्रावण ०५, २०७६
शेयर बजार विभिन्न घटना तथा परीघटना प्रति अति संम्वेदनशिल हुन्छ । दैनिकरुपमा घटने ससाना कुराहरुले त शेयर बजारमा भारी उतारचढाव आउंछ भने नीतिगत फेरवदलले प्रभाव नपार्ने प्रश्नै उठदैन । नेपालमा मात्र नभएर विश्वकै शेयर बजारमा देखिने सामान्य प्रवृति नै यही हो । अनावश्यक बाेली र अप्रशाेधित नीतिकाे भूमरीमा घनचक्कर लगाइरहेकाे छ, शेयर बजार ।
के कस्ता कुराहरु आए त विगत दिनहरुमा ?
सामान्यतया घटनु र बढनु शेयर बजारको नियमित प्रकृया हो । यसैलाई शेयर बजारको सौन्दर्यको रुपमा पनि बुझ्नु जरुरी छ । तर असमान्यरुपले बजार ओरालो लाग्छ जसमा उच्च ओहदामा बसेका र नियमनकारी निकायमा बसेका मान्छेहरुको भनाई जोडिन्छ भने यसलाई अभिसाप भन्दा अरु के भन्ने ?
शेयर बजार जुवाघर वा अनुत्पादक लगानी ?
कहिले शेयर बजारलाई जुवाघरसंग तुलना गरीन्छ अनि सरकारले कडाई गर्ने चेतावनी दिन्छ, तब बजारमा पैह्रोजान शुरुहुन्छ । सरकार थम्थम्याउने प्रयास गर्छ, प्रत्याभूति दिन्छन, सबै आश्वस्त हुन्छन तर त्यतिबेलासम्म लगानीकर्ताको लाखौ रुपैया डुबिसकेको हुन्छ ।
त्यसैगरि शेयर बजारको लगानीलाई अनुत्पादक क्षेत्रको लगानी भन्दै तालुकदार मन्त्रीहरु बोल्नुहुन्छ । यसरी होच्याउने शव्दहरु प्रहार हुंदा लगानीकर्ताले के बुझ्ने ? आगामी दिनहरुमा सरकारले लिने नीतिको छनकको रुपमा बुझ्ने कि नबुझने ? अनि बजारले गति लिन सक्छ ?
शेयर वजारमा कालो धनको प्रवेश :
शेयर बजारलाई समस्त अर्थतन्त्रको व्यारोमिटर मानिन्छ र शेयर बजार खस्किनु भनेको अर्थतन्त्र ओरालो लाग्ने संकेत हो भन्दै चारैतिरबाट विरोध हुन थालेपछि फेरी सरकारी रुवाबासी शुरुहुन्छ । समयको अन्तरालसंगै पुरानो घाउहरुमा खाका बस्दै सामान्यीकरणतर्फ उन्मुख बजारमा अर्काे हल्ला फैलन्छि शेयर बजारमा कालो धनको प्रवेश ।
के शेयर लगानीकर्ताहरु संम्पत्ति शुद्धीकरणको लागि मात्रै शेयर बजारमा लगानी गरेका हुन ? हुन पनि सक्लान, यदी नियम बिपरित काम गरेको पाईएमा कार्वाइ गर्न कसले रोक्न सक्छ ? हल्ला गरिरहनुभन्दा दोषिलाई भटाभट कार्वाइ गरे हुदैन र ?
प्यान र भ्याटको विगविगी :
बजेट भाषणमा पूंजीगत लाभ करलाइ ७.५ प्रतशित बनाइयो तर कारोवारमा आएको मन्दीले ५ प्रतिशत हुंदा जति राजश्व प्राप्त भएको थियो त्यति पनि प्राप्त हुन सकेन । जसलाइृ यस आवको बजेट भाषण मार्फत पुन ५ प्रतिशत कायम गरिएको छ ।
यसैबीच अनिवार्य प्यान र भ्याटका नियमहरु आए । बिचरा साना लगानीकर्ताहरु १० कित्ता शेयर बेच्न कहां कहां धाउनु ? एक पैसाको मासु दुई पैसाको मसला जस्तै भयो । लगानीकर्ताहरु आन्दोलित भए । सामान्य विरोध कार्यक्रमदेखि आमरण अनसनसम्मका चरणबद्ध आन्दोलन भए । सरकारले पनि समस्त मुद्रा तथा पंूजी बजारका समस्या समाधान गर्न कार्यदल (आयोग) नै गठन गर्यो । कार्यदलका सुझावहरु मध्ये धेरैजसो सम्वन्धित निकायहरुले लागु गरे भने कतिपय कार्यन्वयनको चरणमा नै छन ।
पूंजीगत लाभकर गणना विधी (भारित औसत लागत) को तरंग :
अहिले फेरी पूंजीगत लाभकर गणना विधीले लगानीकर्ताहरुमा तरंग पैदा गरिदिएको छ । शेयर विक्री गर्दा आफूले किनेको सम्पूर्ण विवरण ब्रोकरको गएर लिखितरुपमा बुझाउनुपर्ने अन्यथा अंकित मूल्य कायमगरि बांकि सबैमा लाभकर लगाउने । भन्न कति सजिलो ? अनि आफ्नो विवरण राख्नु पर्दैन भन्दा कुनै गल्ती नदेखिने तर लगानीर्कतालाई बर्षौ पुराना प्रमाणहरु जुटाउन कति गाह्रो होला ? तमाम सर्वसाधारणको कुरा छाडिदिउं स्वयं अर्थमन्त्री, राजश्वका प्रमुख, धितोपत्र बोर्ड, सिडिएससी, नेप्सेका प्रमुखहरुलाई पनि सकस नै पर्ला ।
घनचक्करमा शेयर बजार :
लगानीकर्ताको हकहित संरक्षण गर्ने भन्दै खुलेका चारवटै संघ संगठनहरुले भारित औसत लागत गणना विधीको एकजुट भै विरोध गरिरहेका छन । लगानीर्कताहरु कारोवार ठप्प पार्ने अपिल गररिहदा लगानीकर्ता संघले (संयुक्तरुपमा) राफसाफ नगर्ने अनुरोध ब्रोकरहरुले मानीसकेको बताईरहेकाछन । उता ब्रोकर संघका अध्यक्ष भरत रानाभाट राफसाफ गर्ने काम रोक्न नमिल्ने बताउंछन ।
अर्थ मन्त्रालयले दुई दिनभित्र समस्या समाधान गर्न नेप्सेलाई निर्देशन दिईसकेको छ । नेप्समा अध्यक्ष छिटै समस्या समाधान हुने बताउंछन । नेपाल धितोपत्र वोर्ड पनि समस्या परेको स्वीकार गर्दै समाधान निकालिने भनिरहेको छ । आन्तरीक राजश्व कार्यालय आयकर ऐन अनुरुप परीपत्र जारी गरेको र ऐन बाहिर गएर कुनै काम गर्न नसक्ने बताईरहेको छ । लगानीर्कताको कठिनाईको विषयमा आफूहरुले बोल्न नमिल्ने भन्दै समस्याबाट पन्छिन खोज्दैछ ।
निर्विकल्प निकास र समन्वयनको खांचोः
अर्थ मन्त्रालयदेखि शेयर बजारको नियामक निकाय नेपाल धितोपत्र वोर्ड, नेप्से, सिडिएससी सबै लगानीकर्ताको पिडा र उठाईएका मागहरु प्रति सकारात्मक र सम्वेदनशिल छन भने छिटो भन्दा छिटो निकास निस्कनु आवश्यक छ । अव खांचो समन्वयनको छ, सबै निकायहरु एकजुट भै समाधान खाज्नु नै एकमात्र विकल्प हो । अन्यथा आपसी टकरावका बीच शेयर बजारको अधोगति हुनेछ भने सरकारले अहिलेसम्म गरेका सकारात्मक र प्रशंशायोग्य कामहरु पनि ओझेलमा पर्नेछन ।
सबै पक्षको यथासमयमा चेत फिरोस, बर्तमानमा यही कामना गरौ ।