उत्पादिन वस्तु वजारसम्म पुर्याउन कुनै प्रकारको बाधा अड्चन हुन नदिन मन्त्रीको निर्देशन

इन्भेष्टोपेपर । बैशाख ३०, २०७

काठमाडौँ ।  कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कोभिड–१९ कै कारण किसानले उत्पादन गरेको वस्तु वजारसम्म पुर्याउन कुनै प्रकारको बाधा अड्चन हुन नदिन मातहतका निकायलाई निर्देशन दिएको छ ।

कृषि मन्त्रालयले बुधबार देशैभरि रहेका आफ्नो मातहतका निकायसँग भर्चुअल छलफल गर्दै किसानलाई खेतीपाती गर्न तथा वजारसम्म जानका लागि कुनै प्रकारको समस्या नहोस् भनी त्यसमा सहजीकरणका लागि पहल गर्न निर्देशन दिएको कृषि सचिव डा. योगेन्द्र कार्कीले बताउनुभयो ।

छलफलमा कृषिमन्त्री पद्माकुमारी अर्याल, कृषितर्फका सचिव कार्की, पशुपन्छीतर्फका निमित्त सचिव डा. विमल निर्मल, कृषि विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, पशु सेवा विभाग, नेपाल कृषि अनुसन्धान परिषद् (नार्क), राष्ट्रिय किसान आयोग, दूध विकास बोर्ड, दुग्ध विकास संस्थान (डीडीसी), कृषि सामग्री कम्पनी लि., प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, जोन, सुपर जोनलगायतका पदाधिकारीहरू सहभागी थिए ।

कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि ठाउँठाउँबाट किसान तथा उपभोक्ताको गुनासो आउन थालेपछि कृषिमन्त्री अर्यालकै पहलमा यो छलफल राखिएको बताइएको छ । किसानले उत्पादन गरेको वस्तु कोरोनाकै कारण बजारसम्म नपुगेको गुनासो आइरहेको छ, त्यस्तो अवस्थालाई सहज बनाउन मन्त्री अर्यालले मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।

खेती लगाउने समय पनि आइरहेको छ, कुनै प्रकारको समस्या भयो भने खेती कर्ममा असर पर्छ । त्यसको सीधै प्रभाव उत्पादनमा पर्ने भएकाले किसानलाई चाहिने आवश्यक सहयोग, सुविधामा कुनै प्रकारको कमी आउन नदिन मन्त्री अर्यालले निर्देशन दिनुभएको सचिव कार्कीले बताउनुभयो ।
उत्पादन गरेको वस्तु वजारमा पु¥याउन के के समस्या छन्, त्यो बुझेर प्रदेश, स्थानीय तहसँग समन्वय गरेर त्यसको समाधान गर्न पनि भनिएको उहाँले बताउनुभयो ।

कोरोनाका कारण यातायातको अलिकति समस्या देखिएको छ, त्यसको समाधान कसरी गर्न सकिन्छ, त्यसका लागि पनि सुझाव दिन भनिएको छ । किसानले उत्पादन गरेको वस्तु बजारसम्म पु¥याउनमा सहकारी तथा विभिन्न समूहले पनि सहयोग गर्नुपर्ने र उनीहरूसँग मन्त्रालयले समन्वय गर्ने छलफल भएको उहाँले बताउनुभयो ।

कोरोनाका कारण कृषि क्षेत्रमा के कति क्षति भएको छ, त्यसको तथ्याङ्क राख्न पनि मातहतका निकायलाई भनिएको छ । कोरोनाका कारण पीडामा रहेका किसानलाई राहत दिने विषयमा पछि छलफल गरिने कुराकानी भएको उहाँले बताउनुभयो ।

बीउ बिजन तथा नयाँनयाँ प्रविधिमा किसानको पहुँच हुनुपर्ने र त्यसमा नार्क अलि बढी क्रियाशील हुनुपर्ने, कुखुरा, दूध तथा अन्य पशुपन्छीजन्य वस्तुको अवस्था के छ, त्यस क्षेत्रका किसानको के कस्तो समस्या छ ? त्यसमा पशु सेवा विभागले विशेष ध्यान दिनुपर्ने, कृषि विभागले समग्र कृषि व्यवस्थाको के कस्तो समस्या छ, त्यसमा ध्यान दिनुपर्ने कुरा छलफलमा उठेको सचिव कार्कीले बताउनुभयो ।

समस्या थुप्रै छन् तर ती समस्या समाधानका लागि तुरुन्तै लाग्नुपर्छ । सीधै मन्त्रीस्तरबाट समाधान हुने काम त्यहाँबाट समाधान गर्ने, सचिव तहबाट समाधान हुने काम सचिवले गर्ने, तल्लो तहका कर्मचारीबाट नै समाधान हुने काम त्यहीँबाट समाधान गर्ने तर समस्यालाई समस्याका रूपमा नराखी कामलाई छिट्टै अगाडि बढाउन पनि निर्देशन भएको उहाँले बताउनुभयो । कृषि क्षेत्रको समग्र विकासका लागि सङ्घ, प्रदेश र स्थानीय तहको समन्वय हुनु आवश्यक छ । अर्को हप्ता प्रदेश सरकारसँग यस्तो एउटा छलफल गर्ने उहाँले बताउनुभयो ।

यसअघि मन्त्रालयले गृह मन्त्रालयलाई पत्र लेखी ढुवानीमा सहजीकरण गरिदिनका निम्ति आग्रह गरेको थियो । भेटेरिनरी अस्पताल, क्लिनिक, प्रयोगशाला, पशु चिकित्सा सेवा सञ्चालन, पशुपन्छी तथा मत्स्य फार्म सञ्चालन, पशु तथा पशुजन्य उद्योगसम्बन्धी कार्यहरू, पशुपन्छीको ओसारपसारमा प्रयोग गरिने ढुवानीका साधनहरू, दूध तथा दुग्ध पदार्थ, अण्डा, मासु तथा मासुजन्य पदार्थको ढुवानी बिक्री वितरण, दाना तथा दानाको कच्चा पदार्थ, चल्ला क्रेट, घाँस, पराल, फिड सप्लिमेन्ट, भेटेरिनरी औषधि तथा खोप, सिमेन, तरल नाइट्रोजनको ओसारपसार तथा बिक्री वितरणमा निषेधाज्ञाको अवधिमा स्वास्थ्यसम्बन्धी मापदण्डलाई पालना गर्नेगरी उक्त सेवाहरू सञ्चालनमा आवश्यक सहजीकरण गरिदिन गृह मन्त्रालयलाई आग्रह गरेको थियो । याे समाचार गाेरखापत्र दैनिकमा प्रकाशित गरिएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *