कारूणिक कविता : त्यहीं लैजा
— कल्पना आचार्य
सानी थिइन गैह्रीखेतमा लगाउदै आली,
सानो छोरो भोकले घरमा बजाउथ्यो थाली ।
ठूली छोरी साहुको घरमा दाल भात पकाउने,
बाउ भने बाहिर बाहिर केटी फकाउने ।।
दिनभरीको थकानबाट आमा आइन घरमा,
प्राणधान्दै बिहान खाको एक मुठ्ठीको भरमा ।
छोरो रुदै हेर्दै थियो आमा आउने बाटो ,
लोग्ने आयो हप्काउदै काम गर्नुको साटो ।
फर्कि आउदा घर र उनको हालत यस्तो थियो ,
यहाँ उल्लेख भएकैछ जे जे जस्तो भयो ।
परिस्थितिसँग जुध्दै एक्लै व्यबहार धान्दै,
बरबराइन आफै संग सानी यसो भन्दै ।।
******
साहुको घरमा गाकी छोरी अझै आकी छैन,
सहीसलामत यहाँ सम्म आउने हो कि होइन !!
चामल राख्ने घ्याम्पो पनि आजै रित्तिएछ,
नून,भुटुन र तिहुन समेत सबै सिद्धिएछ ।।
पल्लाघर पैचो भन्दै चामल मागि ल्याउछु,
नून बिनाको जाउलो बनाइ बाउ छोरालाई ख्वाउछु ।
भन्दै झटपट धन्दा सकि छोरी लिन गएँ ,
पैह्रो आइ सबलाई लग्यो म त एक्लो भएँ ।।
बाँचेकै थें जसो तसो धान्दै सुख दुख ।
न घर न खेत न परिवार कस्को हेरौँ मुख
मेरै लागि आइज अब महामारी हैजा,
जहाँ लगिस मेरा आफ्ना मलाई त्यहीं लैजा ।।
२०७६/०४/२७
ईटहरी ०५ सुनसरी हाल– नख्खु–०४ ललितपुर ।