गजलः बाबाले गाेरु नारेको सम्झिए
— हरिब हिरा हिम्मत
सुस्केरा हाल्दै गोरूलाई बेसि झारेको सम्झिए
आमाले खाजा बाबाले गाेरु नारेको सम्झिए
चुर्लुमै चोपी गुन्यूको भागलाई कालीले उता
गोडेर बीउ खेतमा फेरि सारेको सम्झिए
गुनगुने कुलो छल्किदै आयो मायालाई रुझाउँदै
हिलोले छ्याप्दै मैले आली बारेको सम्झिए
हिलोले छेपेर असारे पन्ध्र मनाउने बाहानामा
मैले माया देखाउने मौका पारेको सम्झिए
आलीमा बसी दही र चिउरा असारे भाका सङ्ग
जिस्काई उनले छोपेर खुट्टा ल-तारेको सम्झिए
हिरा बस्याल : हस्तिचौर ६ झिर्नेटा छल्दी टार ( गुल्मी )