पाँच रुग्ण उद्योग निजी क्षेत्रलाई दिने तयारी
काठमाण्डाैः लामाे समयसम्म बन्द रहेका पाँचवटा औद्योगिक संस्थान सरकारले अाफै सञ्चालन गर्न नसकेपछि निजी क्षेत्रलाई दिने तयारी थालेको छ। भौतिक स्वामित्व सरकारकै हुने गरी निजी क्षेत्रलाई लिजमा दिन अर्थ मन्त्रालयले सहमति दिएको छ। सरकारले पहिलो चरणमा पाँचवटा रुग्ण उद्योग निजी क्षेत्रलाई दिन लागेको हो।
अर्थ मन्त्रालयले निजी क्षेत्रलाई सञ्चालन गर्न दिन उद्योग मन्त्रालयलाई सहमति दिइसकेको संस्थानहरू यस प्रकार रहेका छन ।
बुटवल धागो कारखाना,
हेटौंडा कपडा उद्योग,
वीरगन्ज चिनी उद्योग,
गोरखकाली रबर उद्योग र
जनकपुर चुरोट कारखाना
विभागीय मन्त्री मातृका यादवकै विशेष चासाेमा मन्त्रालयले सबै उद्योग सञ्चालन कसरी गर्न सकिन्छ भनेर कार्यदल गठन गरिसकेको थियो। कार्यदलले विकल्पसहित प्रतिवेदन तयार गरेको थियो। प्रतिवेदनलाई आधार मानेर उद्योग मन्त्रालय र अर्थ मन्त्रालयले आवश्यक छलफल गरी निजी क्षेत्रलाई निश्चित वर्ष तोकेर सञ्चालन गर्न दिने तयारी भएको हो।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा अहिले कुन माेडालिटी र कस्तो कार्यविधि बनाएर सञ्चालन गर्न दिने भन्ने विषयमा छलफल भइरहेको छ। यसकाे टुंगाे पनि केहीदिन भित्रै लाग्ने मन्त्रालय श्राेतबाट जानकारी मिलेकाे छ । सरकारले निजी क्षेत्रलाई जिम्मा दिदा भौतिक संरचना सरकारको हुने, निश्चित समयका लागि मात्रै निजी क्षेत्रले सञ्चालन गर्न पाउने, उत्पादित वस्तुको पहिलो बजार नेपाल नै गराउनु पर्ने जस्ता शर्त राखेर सञ्चालनको जिम्मा दिने छ । पहिलाे प्राथमिकता सम्बन्धित उद्योग रहेका व्यक्तिलाई नै दिदै प्रतिस्पर्धाका आधारमा छनोट गर्ने भएको छ।