बच्चालाई मोबाइल हेर्ने लतबाट कसरी छुटकारा दिलाउने ? कति सहज छ त ?

  • मार्था इर्भाइन

सिकागो, संयुक्तराज्य अमेरिका  – शनिबारको बिहान।

१० वर्षीय हेनरी हेली उठिसकेका छन्।

उनी पाइजामामै छन् तर उनको माइक्रोफोन जडित हेडफोनमा नीलो बत्ती बल्न थालिसकेको छ। उनी ठूलो स्क्रीनमा बच्चाहरुको लोकप्रिय अनलाइन खेल ‘फोर्टनाइट’ खेल्न थालिसकेका छन्।

‘लौ ? मैले जित्नै लागेको थिएँ, म त मरें,’ उनी गस नाम गरेका साथीलाई भन्छन्।

पाँच कक्षाका यी सहपाठी साथी गसको घर हेनरीको भन्दा दुई–चार घर टाढा मात्र छ।

‘साथी, मैले हार्नु हुँदैनथ्यो।’

उनीहरुबीचको यो डिजिटल ब्याटल (प्रतिस्पर्धा) पुनः शुरु हुन्छ, र हेनरीको उत्साहमा कमी आएकै छैन।

के बाबुआमाले नरोक्ने हो भने ऊ दिनभर खेलिरहन्छ?

‘सम्भवत,’ उनी स्वीकार्छन्।

तर उनीहरुले भनेजति खेल्न पाउँदैनन्। अरु धेरै बाबुआमा झैं, हेलीहरुले हेनरी र उसका १५ वर्षे दाजु एभरेटको डिजिटल खेल सीमित गर्ने धेरै प्रयास गरेका छन्। कतिपय अभिभावकका लागि यो व्यर्थको अभ्यास हुँदैछ। उनीहरु ज्यादै व्यस्त हुन्छन्, र जताततै भेटिने डिजिटल सामाग्रीसँग कति जुध्नु?

हेनरीलाई स्क्रीनबाट छुटाउन दिनहुँ सङ्घर्ष नै गर्नु पर्दछ, उनका बुबाआमाले भने।

‘उसलाई स्क्रीनबाट छुटाएर अरु केही काम लगाउनासाथ एकछिन त उसले रुखो व्यवहार देखाउँछ, फत्फताउँछ,’ उनकी आमा बार्ब हेली भन्छिन्, ‘ऊ रिसाउँछ, निराश हुन्छ। आमा कति खराब हुनुहुन्छ भन्छ। यो किन, केका लागि गरेको भन्छ।’

विज्ञहरुको भनाइमा यसको लक्ष्य नै बच्चाहरुले ठूलो भएपछि आफ्नै ढङ्गले केही सोचुन्, गरुन् तथा शारीरिक रुपमा सक्रिय र समाज के हो भनेर थाहा पाउन् भन्ने हुनु पर्दछ। अफलाइन हुँदा उनीहरु बढी समाजमा घुलमिल गर्न थाल्ने उनीहरुको भनाइ छ। तर धेरै अमेरिकी घरपरिवारमा अभिभावकहरुले बालबच्चासँग धेरै नै सङ्घर्ष गर्नु परिरहेको छ।

कमन सेन्स मिडियाले हालै १३ देखि १७ वर्षका बच्चाहरुमा गरेको सर्भेक्षणमा यो उमेरका ९५ प्रतिशत बालबालिकासँग मोबाइल रहेको पाइएको छ। तीमध्ये ७० प्रतिशतले दिनमा धेरै पटक सामाजिक सञ्जालमा केही छ कि भनेर हेर्ने गर्दछन्। सन् २०१२ मा ३४ प्रतिशतले मात्र सामाजिक सञ्जाल प्रयोग गर्दथे। आधाभन्दा बढीले मोबाइलले उनीहरुलाई स्कुलका गृहकार्य गर्ने समयमा अल्मल्याउने गरेको बताए।

केही प्रविधि क्षेत्रका कम्पनीहरुले बल्ल डिजिटल मिडियाको अति प्रयोग र दुरुपयोगका बारेमा सरोकार राख्न थालेका छन्।

एप्पल कम्पनीले आफ्नो पछिल्लो आइफोन सफ्टवेयरमा ‘स्क्रीन टाइम’ सुविधा थपेको छ। यसले एप्सको प्रयोगको अनुगमन गर्दछ र प्रयोगकर्तालाई वा उनीहरुका अभिभावकलाई एप्स प्रयोगको सीमा तोक्न मद्दत गर्दछ। गूगल फर फेमिलिज र गूगल प्ले तथा अरु धेरै एप्सले पनि अभिभावकलाई त्यस्ता एप्स बारे अनुगमन गर्न तथा कुनै किसिमको नियन्त्रण गर्ने सुविधा प्रयोग गर्नेगरी सेवा दिएका छन्।

तर यी सुविधाहरु मोबाइलमा आफैँ सेट हुँदैनन्।

सिकागोस्थित हेलीको घरमा यस्तै समस्या आयो। वाइफाईमा ठूलो छोरा एभरेटले कति समय बिताउँछ भन्ने नियालेका उनका बाबु एलेन हेली त्यो देखेर छक्कै परे। छोराले दिनमा चार घण्टाभन्दा बढी समय खेलकूदका भिडियोहरु, अरु मनोरञ्जनात्मक खेलहरु र सामाजिक सञ्जालमा साथीहरुसँग गफिएर बिताएका थिए।

‘मलाई लाग्दैन उसलाई अनलाइनमा कति समय बिताएँ भन्ने जानकारी छ,’ एलेन भन्छन्। त्यसपछि एलेनले कुनै निश्चित घण्टा वाइफाई बन्द गर्ने निर्णय गरे । कुनै चेतावनी नदिई उनले एकरात वाइफाई बन्द गरिदिए।

एक मिनेट, सामाजिक सञ्जालमा एभरेटले कुनै साथीसँग कुरा गर्दै थियो। ‘त्यसपछि ऊ बाहिरियो।’ यो अन्याय भो भन्दै ऊ बाहिर गयो। बाबुले एभरेटको कुरा सुनिरहे। उनले एभरेटलाई किताब पढ्न वा बाहिर बास्केटबल खेल्न जाऊ भने।

‘मैले केही गल्ती त गरेको छैन नि,’ एभरेटले पटकपटक भनिरह्यो।

यी प्रवृत्तिका बारेमा अध्ययन गरेका अनुसन्धाताहरु यसलाई ‘कुलत’ भन्न चाहिँ रुचाउँदैनन्।

मानसिक स्वास्थ्यका क्षेत्रमा यसको आधिकारिक र प्रामाणिक प्रभाव–अध्ययन भइसकेको छैन।

तर, 11 संगठनले आफ्नो सूचीमा यस्तो प्रवृत्तिलाई ‘गेमिङ हलचल वा गडबडी’ भनेको छ। डिजिटल खेलले सम्बन्धहरु, स्कुल र काममा गम्भीर रुपमै व्यवधान ल्याउँछ। अमेरिकी स्वास्थ्य निकायहरुबाट यसका बारेमा अझै पनि अध्ययन नै भइरहेको छ।

कहिलेकाहिँ, विज्ञहरुको भनाइमा डिजिटल तन्मयताले विद्यमान परिस्थितिलाई अझ सङ्कटमा पार्दछ, जस्तै उदासी, चिन्ता बढाउँछ। त्यसैले, न्यूपोर्ट एकेडेमीमा उपचारका लागि आएका किशोर किशोरीको साथमा डिजिटल उपकरण छ छैन जाँच गर्नु जरुरी भइसकेको छ।

‘एउटा लक्षणमा प्रायः सधैंजसो स्मार्टफोनको अत्यधिक प्रयोग नै देखिन्छ,’ न्यूपोर्ट एकेडेमीका प्रशासक तथा क्लिनिकल सामाजिक कार्यकर्ता हिथर सिनियर मोन्रो भन्छिन्, ‘यो नै सबैभन्दा ठूलो समस्याको रुपमा पाइएको छ।’

एलेनले आफ्नो ठूलो छोराले दिनमा कम्तीमा ३० मिनेट पढोस् भन्ने जबर्जस्ती गरिरहे। वाइफाईमा समय तोकिएसँगै एभरेट घर बाहिर निस्कियो र दुई वटा पुस्तक किनेर ल्यायो।

आजभोलि दुवै बच्चा केही समय मोबाइलमा हुन्छन्, र त्यसपछि फुटबल खेल्न थाल्छन्। एभरेटले साक्सोफोन पनि बजाउँछ। हेनरीले बिगुल बजाउनुका साथै ड्रम पनि सिक्न थालेका छन्।

बच्चालाई मोबाइल हेर्नबाट कसरी सीमित गर्ने? भन्ने विषयमा अभिभावक सचेत हुनै पर्छ। होइन भने यसले जटिल समस्य निम्त्याउन सक्छ।

000

बालबालिकाको अहिलेको पुस्ता डिजिटल ग्याजेट चलाउँदै हुर्किरहेको पहिलो पुस्ता हो । त्यही भएर यसले बालबालिकामा पार्ने प्रभावबारे धेरै कुरा पत्ता लाग्न बाँकी नै छ । जति पत्ता लागेको छ, यसबाट बालबालिकाको शारिरीक र मानसिक विकासमा स्मार्टफोन र आइफोनले वाधा हाल्ने गरेको प्रमाण देखिएको छ।

स्मार्टफोन चलाइरहेका बालबालिकाबाट स्मार्टफोन खोसियो भने उनीहरु झनक्क रिसाउँछन्। रुन्छन्, कराउँछन्। स्मार्टफोन खोस्नेमाथि हमला गर्न पनि पछि पर्दैनन् । स्मार्टफोन चलाउन नपाउँदा आलस्य, उदास हुने र कुनै पनि कुरामा अभिरुची नदेखाउने खालका एकोहोरो हुन्छन्।

स्मार्टफोन अथवा आइप्याड चलाउँदै गरेको अवस्थामा बालबालिकाको दिमागको अध्ययन गर्दा डरलाग्दो कुरा पत्ता लागेको छ । यस्ता सामाग्री चलाउने केटाकटीको दिमागको अगाडिपट्टिको भाग (फ्रोन्टल कोर्टेक्स)मा नराम्रो असर पर्छ । फ्रोन्टल कोर्टेक्सले शरीर सञ्चालनको मुल तत्वलाई नियन्त्रण गर्ने गर्छ । आवेग नियन्त्रण (इम्पल्स कन्ट्रोल) गर्ने काम पनि फ्रोन्टल कर्टेक्सकै हो।

डरलाग्दो कुरा के छ भने स्मार्टफोन चलाउँदा केटाकेटीको फ्रोन्टल कर्टेक्समा जस्तो असर पर्छ, त्यस्तै असर कोकिन लिने मानिसको फ्रोन्टल कर्टेक्समा परेको हुन्छ। अर्थात्, बालबालिकाका लागि स्मार्टफोनको अम्मल भनेको कुनै वयष्कका लागि कोकिनको अम्मलजस्तै हो। स्मार्टफोन चलाउँदै गर्दा बालबालिकाको शरीरमा डोपामाइन हार्मोन उत्सर्जन ह्वात्तै बढेको हुन्छ।  डोपामाइन हार्मोनले मानिसलाई आनन्द महसुस गराउँछ। सेक्स गर्दै गर्दा मानिसमा डोपामाइन हार्मोन बढी उत्सर्जन हुने भएकाले सेक्स मानिसका निम्ती अभिरुचीको क्रिडा हुन पुगेको हो।

बिहेव्यरल न्युरोसाइन्समा विद्यावारिधी गरेकी डा. बेथानी ब्रोकशाइर भन्छिन्, ‘डोपामाइन प्रेम हार्मोन हो। यो कामोत्तेजना बढाउने हार्मोन पनि हो। जुवामा लिन जुवाडेको शरीरमा पनि यही हार्मोन उत्सर्जन भएको हुन्छ । लागूऔषधमा लिन भएको अम्मलीले पनि यही हार्मोनले गर्दा आनन्द पाएको हुन्छ।’ स्मार्टफोन चलाउने बालबालिकाको दिमागमा यही हार्मोन बढी उत्सर्जन हुने भएकोले स्मार्टफो चलाउन पाउँदा उनीहरु रमाउँछन्।

स्मार्टफोन चलाउनमा कसैले अवरोध गर्‍यो भने कोकिन लिन अवरोध पुर्‍याउनेमाथि कोकिनको अम्मली झम्टिएझैं बालबालिकाहरु झम्टिन्छन्। त्यही भएर क्यालिफोर्निया विश्वविद्यालयअन्तर्गतको न्युरोसाइन्स विभागका निर्देशक डा. पिटर ह्वाइब्रोले स्मार्टफोन, आइफोनजस्ता स्क्रिनयुक्त प्रविधिलाई ‘इलेक्ट्रोनिक कोकिन’को सँज्ञा दिएका छन्। चिनियाँ अनुसन्धानकर्ताले चाहिँ यसलाई ‘डिजिटल हेरोइन’ भनेका छन् । विभिन्न अध्ययनले स्मार्टफोनका अम्मलीहरूमा डिप्रेसन र चिन्तासँगै आक्रामकता पनि बढि हुने देखाएको छ। त्यस्ता मानिस जीवनका वास्तविकताबाट अलिक टाढै हुन्छन्।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *