शेयरमा लगानी गर्न इच्छुक हुनुहुन्छ? जान्नुहोस् के छ प्रक्रिया।
इन्भेष्टोपेपर
शेयर बजारबाट साथीभाईहरुले धेरै लाभ उठाएको सुन्नु भएको छ? पछिल्लो अवस्थामा धेरैले गुमाएको पनि सुन्नु भयो होला। यधपि तपाईलाई शेयरमा लगानी गर्ने इच्छा छ तर कसरी बजार प्रवेश गर्ने भनेर थाहा छैन भने यो लेख जानकारी मूलक हुन सक्छ।
शेयर बजारमा आएका क्रमिक सुधारले लगानीकर्तालाई शेयरमा लगानी गर्न धेरै नै सहज भएको छ। पहिले जस्तो कुनै कम्पनीको शेयर भर्न एकदिनको समय निकालेर दिनभर लाईन बसेर शेयरमा आवेदन दिनुपर्ने अवस्था डिजिटल प्रविधिले पूर्ण रुपमा हटाइदिएको छ। अहिले तपाईले आफ्नो मोबाइल अथवा कम्प्यूटरबाट घरैबाट प्राथमिक शेयरमा आवेदन तथा दोस्रो बजारमा किनबेच गर्न सक्नु हुन्छ। शेयरमा लगानी गर्न इच्छुक हुनुहुन्छ भने तलको प्रक्रिया अवलम्वन गर्नुपर्छ।
१) बैंक खाता
सर्वप्रथम तपाईको मान्यता प्राप्त कुनै पनि बैंक तथा बित्तिय संस्थामा खाता हुनुपर्छ।
२) डिम्याट खाता
तपाईले खरिद गरेको शेयर जम्मा हुने खातालाई डिम्याट खाता भनिन्छ। शेयर बजारमा प्रवेश गर्नलाई यो खाता खोल्नु अनिवार्य छ। डिम्याट खाता मान्यता प्राप्त कुनै पनि बित्तिय संस्थाबाट खोल्न सकिन्छ। डिम्याट खाता खोल्न बैंक खाता नम्बर, नागरिकताको प्रतिलिपि र पासपोर्ट साइजको फोटो आवश्यक हुन्छ।
३) सि-आस्वा नम्बर
डिम्याट खाता खोलेपछि तपाईले सि-आस्वा नम्बरको लागी आफ्नो खाता भएको सम्बन्धित बित्तिय संस्थामा गएर फारम भर्नुपर्छ। सि-आस्वा नम्बर प्राथमिक शेयरमा आवेदन गर्दा अनिवार्य रुपमा आवश्यक पर्ने हुन्छ।
४) मेरो शेयर खाता
माथिका सबै प्रक्रिया पूरा गरेपछि तपाईले कुनै पनि मान्यता प्राप्त बैंक तथा बित्तिय संस्थामा गएर प्राथमिक शेयर आवेदन गर्न सक्नुहुन्छ। तर घर बसेर शेयर आवेदन गर्न चाहनुहुन्छ भने मेरो शेयर खाता उपयोग गर्नुहोस्। मेरो शेयरको बारेमा जान्न यहाँ क्लिक गर्नुहोस्।
५) ब्रोकर खाता
दोस्रो बजारमा शेयर खरिद बिक्री गर्न ब्रोकर खाता अनिवार्य छ। आफूलाई पायक पर्ने ठाउँ हेरेर ब्रोकर खाता खोल्नुहोस्। ब्रोकर खाता खोल्न डिम्याट नम्बर र बैंक खाता अनिवार्य छ। नेप्सेको आनलाईन ट्रेडिङ उपयोग गरेर तपाईले घरबाटै शेयर खरिद बिक्री गर्न सक्नुहुन्छ। ब्रोकर कम्पनीको बारेमा जान्न यहाँ क्लिक गर्नुहोस्।