घटिरहेको शेयर बजारमा लुकेका ५ अवसरहरु।
गौरव सुवेदी
शेयर बजार निरन्तर घटिरहदा लगानीकर्ता निराश हुनु स्वभाविक हो। शेयर बजारको भाषामा भनिने मार्केट क्रयासले लगानिकर्तालाई धेरै नै पिडा पुराउँछ। निरन्तर घटिरहेको बजारमा आत्तिएर धेरैले नराम्रा निर्णय पनि लिन्छन। नेपाली शेयर बजारमा पनि पछिल्लो समय बजार निरन्तर घटेर लगानीकर्ताहरु निराश भएका छन्।
नेप्से २.५ बर्षको अवधिमा १८८१ को चरम बिन्दु बाट झरेर अहिले ११००-१२०० को रेन्जमा घटबढ भईरहेको छ। बजारले ठुलै मार्केट क्रयास अनुभव गरेको छ।
आफूले मिहिनेत र पसिनाले कमाएको पैसा लगानी गरेर घाटा हुँदा वा सोचे जस्तो प्रतिफल नपाउँदा पक्कै पनि हतोत्साहित भईन्छ। तर बजार घटबढ हुनु पनि एउटा सामान्य प्रकृया नै हो जुन हरेक बिश्व बजारका लगानीकर्ताले भोग्नु नै पर्छ। बढि रहेको बजारमा मान्छेले कमाउने धेरै उवसर देख्छन् र शेयर कारोवारमा बढी संलग्न हुन्छन्। यसकारण धेरै निर्णय पनि गलत हुन जान्छन। आफूलाई सन्तुलनमा राखेर राम्रो निर्णय लिन सके घटेको शेयर बजारमा पनि धेरै अवसर लुकेको हुन्छ।
अवसर १: राम्रो कम्पनीका शेयर सस्तो मूल्यमा किन्ने
बजारमा जादा पसलमा सेल लागेको देख्दा त्यसले सबैलाई आकर्षित गर्छ। यस्तै घटेको बजारपनि लगानीकर्ताको लागी वास्तवमा सेल लागे जस्तै हो। राम्रा कम्पनी पहिचान गरी त्यस्ता कम्पनिको शेयर सस्तोमा आफ्नो पोर्टफोलियोमा सामेल गराउँने अवसर घटेको शेयर बजारमा हुन्छ।
शेयर लगानीको एउटा शुत्रनै कम मूल्यमा किनेर धेरैमा बेच्ने हो। बजारले फेरी बढ्ने गति लिएपछि राम्रा कम्पनीका शेयर मुल्य चुलिदै जान्छन्। यसकारण राम्रो कम्पनीको शेयर किनेर तपाईले आफ्नो घाटालाई बराबर गरेर लामो समयमा फाईदा लिन सक्नु हुन्छ। राम्रो कम्पनी पहिचान गर्न तपाईले थुप्रै बित्तिय अनुपातहरु (जस्तै EPS,PE Ratio,ROE,ROA )आदिको प्रयोग गर्न सक्नु हुन्छ।
अवसर २: थोरै लगानीबाट शुरुवात गर्न सकिने; नयाँ लगानीकर्ता प्रवेश
शेयर बजार बढेको बेला अधिकांश कम्पनीका शेयर मूल्य बढेको हुन्छ। यो समयमा थोरै पुँजी भएका लगानीकर्ताले शेयर खरिद गर्दा थोरै मात्रामा मात्र शेयर खरिद गर्न सक्छन्। घटेको बजारमा सस्तो मूल्यमा शेयर खरिद गर्न सकिन्छ। यसकारण थोरै लगानी बाट सुरु गर्ने सोच भएका लगानीकर्ताले धैर्य भएर बजारमा प्रवेश गर्न सक्छन्। बढी रहेको बजारमा कमाउने लोभमा छिर्दा धेरै गलत निर्णय गरिन्छ। साथे लगानी पनि पुरै शेयर मूल्यमा मात्र केन्द्रित भएर गरिने हुँदा नराम्रो नतिजा बेहोर्नु पर्छ।
अवसर ३: आफ्नो पोर्टफोलियो अझ बलियो बनाउने
तपाईको पोर्टफोलियोले लामो समय देखि राम्रो प्रतिफल दिदै आएको छ र तपाई आफ्नो पोर्टफोलियो प्रति विश्वस्त हुनुहुन्छ भने बजार घट्दा तपाईको लागी सुनौलो अवसर सिर्जना हुन्छ। यो बेलामा तपाईले आफ्नो पोर्टफोलियोलाई अझै बलियो बनाउन सक्नुहुन्छ। घटेको मूल्यमा शेयर किन्दा तपाईको पुरानो शेयरको औसत खरिद मुल्य घट्न जान्छ। यसले गर्दा तपाईको शेयरको औसत मूल्य त्यसको औसत खरिद मूल्य भन्दा बढी हुने सम्भावना अझै बढ्छ।
अवसर ४: मार्केट र लगानीकर्ताको भावना बुझ्ने
घटिरहेको शेयर बजारले तपाईलाई बजारको अर्को जटिल पाटोको अध्ययन गर्ने मौका दिन्छ। तपाईले बढिरहेको बजारमा आफ्नो मस्तिस्क वा शरीरमा जागेको भावना र घटिरहेको बजारमा आफूमा आएको मनोबैज्ञानिक परिवर्तन छुट्याउन सक्नु भयो भने यसले तपाईलाई सफल लगानिकर्ता हुन धेरै सहयोग गर्छ। तपाईलाई आफ्नो लगानी निर्णयमा भएका त्रूटि थाहा पाउने मौका घटेको बजारले दिन्छ।
घटेको बजारको रहनसहन,ब्याकुलता, निराशा, अविश्वास आदिको मानसिक चित्रण गरेर तपाई चुलिएको बजारमा नियन्त्रित हनुहुन्छ । यसबाहेक बजारको अर्को चेहेरा हेरेर त्यो संग लड्ने निती तयार गरेर तपाईले फेरी फेरी बजार घट्दा त्यसको फाईदा लिन सक्नु हुन्छ। बढेको बजारमा गरेको जथाभावी निर्णयले पुराएको घाटाले तपाईलाई धेरै कुरा सिकाउछ। बजार प्रति कमजोर हुदै गएको बिश्वासलाई जगाउन सके तपाई सफल शेयर लगानीकर्ता हुन सक्नुहुन्छ।
अवसर ५: अध्धयन गरेर नराम्रा कम्पनी पत्ता लगाउने
बजार बियरिस ट्रेन्डमा भएको बेला राम्रा र नराम्रा कम्पनिका शेयर दुवै तल झर्छन। तर राम्रो बित्तिय प्रतिवेदन, बलियो आधारभुत सुचांक र लगानीकर्तालाई सन्तुष्ट हुने गरी लाभांश दिने कम्पनीहरुको मूल्यमा पक्कै पनि कम गिरावट आउँछ र लगानीकर्ता पनि यस्ता शेयर नबेची थामिएर बस्न सक्छन्। बितिय सुचकको आधारमा कमजोर भएका कम्पनीहरुले बजारको उच्च गिरावटलाई प्रतिरोध गर्न सक्दैनन्। यसकारण बियरिस मार्केटले नराम्रो कम्पनीको शेयर बेचेर राम्रा कम्पनीमा लगानी गर्ने अवसर दिन्छ। कम्पनीका आधारभूत सुचांकको ग्यान बिना कुनै पनि निर्णय लिदा त्यसको परिणाम ठीक हुदैन।
घटेको शेयर बजारले तपाईलाई धेरै नै कुरा सिकाउँछ र यस समयमा धैर्य र ब्याकुल नभई आफ्नो मस्तिष्कमा नियन्त्रण राखेर राम्रो निर्णय लिएमा तपाईले धेरे भन्दा धेरै फाइदा लिन सक्नु हुन्छ।