पूर्वगभर्नरहरू भन्छन राष्ट्र बैंक अर्थ मन्त्रालयको शाखाजस्तो भयो, अर्थमन्त्री भन्छन व्यवसायी र बैंकर नछुट्टिँदा समस्या :
काठमाण्डाैः २०७५ फाल्गुण ६ सोमबार
नेपाल राष्ट्र बैंकका पूर्वगभर्नरहरूले मुलुकको केन्द्रीय बैंक अर्थ मन्त्रालयको शाखाजस्तो भएको बताएका छन् । नेसनल बैंकिङ इन्स्टिच्युटले स्थापनाको १०औँ वार्षिकोत्सवमा आयोजना गरेको कार्यक्रममा पूर्वगभर्नरहरू गणेशबहादुर थापा, विजयनाथ भट्टराई तथा दीपेन्द्रबहादुर क्षत्रीले यस्तो बताएका हुन् ।
‘बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनको पछिल्लो संशोधनमा नेपाल राष्ट्र बैंकलाई अर्थ मन्त्रालयले निर्देशन दिन सक्ने र त्यसलाई राष्ट्र बैंकले पालना गर्नुपर्ने व्यवस्था छ, त्यसको दुरुपयोग गर्दै अर्थ मन्त्रालयले केन्द्रीय बैंकको स्वायत्ततामा हस्तक्षेप गर्ने गरेको छ,’ पूर्वगभर्नर क्षत्रीले भने ।
‘केन्द्रीय बैंकरहरू परम्परावादी हुनुपर्छ, पछिल्लो समय भारतको केन्द्रीय बैंकका दुई गभर्नरले सरकारको हस्तक्षेप अस्वीकार गरेर राजीनामा दिए । तर, नेपालमा भने राष्ट्र बैंकका अधिकारीहरूले अर्थमन्त्रालयलाई तालुकदार मानिरहेको देखिन्छ,’ पूर्वगभर्नर विजयनाथ भट्टराईले भने । ‘भुक्तानी सन्तुलनलाई थप नकारात्मक बन्न नदिन वेलैमा सचेत बन्नुपर्छ । आइएमएफ र विश्व बैंक गुहार्नुप-यो भने त्यसले ठूलो क्षति हुनेछ,’ उनले भने ।
सरकारले चाहेको खण्डमा राष्ट्र बैंकको गभर्नरलाई हटाउन सक्ने व्यवस्था अनुचित भएको पूर्वगभर्नर थापाले बताए । बैंकिङ क्षेत्रको ब्याजदर घटाउन व्यापारीहरूले प्रधानमन्त्री र अर्थमन्त्रीलाई गुहार्दै हिँड्नु नै गलत रहेको थापाको भनाइ थियो । ‘ब्याजदर नियन्त्रण गर्ने निकाय राष्ट्र बैंक हो, तर प्रधानमन्त्रीले ब्याजदर घटाउँछु भन्दै प्रतिबद्धता गर्नुहुन्छ,’ उनले भने, ‘यसले भने राष्ट्र बैंकको भूमिका के–कस्तो छ भनेर प्रस्ट हुन्छ ।’
व्यवसायी र बैंकर नछुट्टिँदा समस्या : अर्थमन्त्री
सम्मेलनलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले एउटै व्यक्ति बैंकर र व्यवसायी दुवै बन्दा प्रणालीमा समस्या आएको बताए । एकै व्यवसायीले एकातिर बैंकले गरेको नाफाबाट लाभांश पनि लिने अर्कोतिर ब्याजदर घटाउनुप-यो भन्दै डेलिगेसन पनि जाने कुरा अमिल्दो भएको उनको भनाइ थियो । मन्त्री डा. खतिवडाले वित्तीय बजार प्रतिस्पर्धी नभएर नियामकले हस्तक्षेप गर्न सक्ने पनि बताए ।
सम्मेलनमा मन्तव्य दिने क्रममा गभर्नर डा. चिरञ्जीवी नेपालले हालको बैंकिङ व्यवसाय विगतको परम्परागत बैंकिङबाट परिवर्तन भई प्रविधियुक्त हुँदै गइरहेको परिप्रेक्ष्यमा यससँगै निहित जोखिमबारे पनि समयानुकूल जानकारी हासिल गर्न अनिवार्य रहेको बताए । याे समाचार अाजकाे नयां पत्रिका दैनिकमा छ ।