अब इन्टरनेट सेवाप्रदायकको चुक्ता पुँजी ४ करोड हुनुपर्ने

इन्भेष्टोपेपर ।  श्रायण १५, २०७७ 

अबदेखि इन्टरनेट (इमेलसहित) सेवा सञ्चालन गर्न चाहने व्यक्तिले ४ करोड चुक्ता पुँजी कायम गर्नुपर्नेछ । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट (इमेलसहित) सेवा सञ्चालनसम्बन्धी विनियमावली २०७७ जारी गर्दै सेवा सञ्चालन गर्न चाहने व्यक्तिले फेलो चार्टर्ड एकाउन्टेन्टबाट प्रमाणित गराई ४ करोडबराबरको खुद सम्पत्ति रहेको विवरण पेस गर्नुपर्ने व्यवस्था गरेको छ ।

प्राधिकरणले यसअघि जारी गरेको इन्टरनेट तथा इमेल सेवा सञ्चालनसम्बन्धी विशेष निर्देशिका खारेज गरी चालू आवबाट नयाँ विनियमावली लागू गरेको हो । इन्टरनेट सेवा सञ्चालन वित्तीय रूपमा सबल र समयअनुसार व्यावहारिक बनाउन नयाँ विनियमावली जारी गरिएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले बताए । 

नयाँ व्यवस्थाअनुसार निवेदकले व्यावसायिक योजनाअन्तर्गत अनुमानित पुँजी, प्रस्तावित कुल लगानी, लगानीको स्रोत, सञ्चालन खर्च, सेवा सञ्चालन गरेको वर्षदेखि ५ वर्षसम्मको कुल अनुमानित आय, कुल अनुमानित खर्च र कुल अनुमानित नाफा–नोक्सानको हिसाबसमेतको प्रक्षेपण गरिएको विवरण पेस गर्नुपर्नेछ ।

पाँच वर्षसम्मको क्षेत्रगत ग्राहक प्रक्षेपण गर्नुपर्ने

इन्टरनेट सेवा सञ्चालन गर्न चाहने व्यक्तिले आगामी पाँच वर्षसम्मको क्षेत्रगत ग्राहकको अनुमानित संख्या पेस गर्नुपर्नेछ । व्यावसायिक योजनामा मार्केटिङ पक्ष पनि खुलाउनुपर्नेछ । सेवा सञ्चालन गरिने क्षेत्रहरूमा ग्राहकहरूको प्रक्षेपण गर्नुपर्नेछ । आफूले सेवा दिइने भौगोलिक क्षेत्रहरूमा अनुमानित ग्राहकको संख्या र सोमध्ये आफ्ना ग्राहकको संख्या के–कति हुन सक्छ, सोको विवरण प्राधिकरणमा बुझाउनुपर्नेछ । ग्राहकलाई दिइने सेवाको गुणस्तर सम्बन्धमा अपनाइने नीति, अनुमतिपत्र प्राप्त भएपछि उपकरण जडान गर्ने, कार्य सुरु गर्ने र ग्राहकलाई सेवा उपलब्ध गराउन सुरु गर्ने मितिसमेत निवेदनमा उल्लेख गर्नुपर्नेछ । 

प्रयोग गरिने उपकरणको स्तर र मोडल खुलाउनुपर्ने

इन्टरनेट सेवा सञ्चालनका लागि आवेदन दिँदा सेवा सञ्चालन गर्न प्रयोग गरिने उपकरणको स्तर, मोडल नम्बर, निर्माताको नाम, निर्माण गरिने मुलुकको विवरण र उपकरण जडान हुने स्थान खुलाउनुपर्नेछ । सेवाप्रदायक कम्पनीहरूले कम गुणस्तरका सेवा सञ्चालन गरी ग्राहकलाई ठगी गर्न थालेपछि प्राधिकरणले यस्तो व्यवस्था गरेको हो । 

त्यस्तै, उपकरण मर्मत–सम्भार गर्न अपनाइने नीति (आफ्नै कर्मचारीमार्फत गराउने हो वा उपकरण निर्माताबाट गराउने हो) प्रस्ट खुलाउनुपर्नेछ । फ्रिक्वेन्सी प्रयोग हुने सेवा भए के–कति फ्रिक्वेन्सी ब्यान्ड चाहिने हो र उक्त फ्रिक्वेन्सीको प्रयोग कसरी गरिने हो, सोको विवरणसमेत खुलाउनुपर्नेछ । अन्य नेटवर्कसँग आबद्ध हुने स्थान, तरिका वा किसिम खुलाउनुपर्नेछ । 

इन्टरनेट ब्यान्डविथ लिएर सेवा सञ्चालन गर्न चाहनेले नेटवर्क सेवाप्रदायकबाट ब्यान्डविथ लिने सम्बन्धमा भएको द्विपक्षीय सम्झौताको प्रतिलिपि पेस गर्नुपर्नेछ । साथै, सेवा प्रदान गर्दा प्रयोग गरिने माध्यम खुलाउनुपर्नेछ । सेवा सञ्चालनका सम्बन्धमा वातावरणीय प्रभाव मूल्यांकन विवरण र इन्टरनेट सेवाको दुरुपयोगबाट हुन सक्ने आपराधिक क्रियाकलाप न्यूनीकरण सम्बन्धित योजनासमेत पेस गर्नुपर्नेछ ।

सेवाशुल्क दर प्राधिकरणबाट प्रमाणित गर्नुपर्ने

इन्रटनेट (इमेलसहित) सेवा सञ्चालन गर्न चाहने व्यक्तिले सेवा उपलब्ध गराएबापत ग्राहकसँग लिइने विभिन्न शुल्कको किसिम र दर प्राधिकरणबाट स्वीकृत गराउनुपर्नेछ । यसरी लगाइने शुल्कको विवरण सार्वजनिक रूपमा प्रकाशित गर्नुपर्नेछ । सेवाप्रदायकले आफूखुसी सेवाशुल्क असुल्न थालेपछि प्राधिकरणले विनियमावलीमा नै यस्तो व्यवस्था गरेको हो । 

कार्यकारी प्रमुखलाई सात वर्षको अनुभव

इन्टरनेट सेवा सञ्चालन गर्ने कम्पनीमा नियुक्त गरिने कार्यकारी प्रमुखसँग कम्तीमा ७ वर्षको व्यावसायिक अनुभव भएको हुनुपर्ने व्यवस्था गरिएको छ । प्रस्तावित दूरसञ्चार सेवा सञ्चालनमा संलग्न हुने जनशक्ति, संगठनको ढाँचासहितको विवरण प्राधिकरणमा बुझाउनुपर्नेछ । एकभन्दा बढी सञ्चालक वा व्यक्ति मिली साझेदारीमा सेवा सञ्चालन गरिने भए साझेदारीहरूबीच भएको सम्झौता वा समझदारीपत्रको प्रतिलिपि, कुनै विदेशी संघ–संस्थासँग संयुक्त लगानीमा सेवा सञ्चालन गर्न लागिएको भए सोसम्बन्धी सम्झौता वा समझदारीपत्रको प्रतिलिपि पनि बुझाउनुपर्नेछ । याे समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *