लामो दूरीमा चल्ने विद्युतीय मिनी बस सञ्चालनमा

इन्भेष्टोपेपर ।  असाैज ०२, २०७७

काठमाडौं । नेपालमा बिजुलीबाट लामो दूरीमा चल्ने मिनी बस सञ्चालनमा ल्याइएको छ ।

श्री भवलक्ष्मी इन्भेस्टमेन्ट कम्पनी प्रालिले पहिलोपटक लामो दूरी अर्थात् काठमाडौंबाट रामेछापको सदरमुकाम मन्थलीसम्म दैनिक रुपमा सञ्चालनमा ल्याएको सो मिनी बसको शुक्रवार एक समारोहबीच पूर्व प्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले शुभारम्भ गरेका हुन् । कोटेश्वरबाट शुक्रवार दुई ओटा मिनी बस मन्थलीतर्फ प्रस्थान गरेका छन् ।     
     
 सो अवसरमा उनले आयातित इन्धन डिजेल र पेट्रोललाई विस्थापित गरी स्वदेशी विद्युतबाट सवारी साधन सञ्चालन गर्दा वातावरणीय स्वच्छता कायम हुनुको साथै राष्ट्रिय अर्थतन्त्रमा समेत महत्वपूर्ण योगदान पुग्ने बताए ।

उनले विद्युतलाई व्यावसायिक प्रयोजनमा उपयोग गर्न सकिए भोलिका दिनमा विद्युत् खपतको समस्या नरहने र आयातित इन्धनको निर्भरता कम गर्न सकिने  पनि बताए ।

विश्वका अधिकांश मुलुकहरुले विद्युतीय सवारी साधनलाई प्राथमिकता दिएको अवस्थामा विद्युतीय सवारी साधनलाई कर लगाउनु उपयुक्त होइन भन्दै पूर्व प्रधानमन्त्री नेपालले यस्ता सवारीलाई प्रोत्साहन पुग्ने गरी नीतिगत व्यवस्था गर्न सरकारसँग आग्रह गरे ।     
     
२० ओटा सिट क्षमता रहेका ती मिनी बस एनबी ग्रीनटेक इन्टरनेशनल प्रालिले चीनबाट भित्र्याएको हो । कम्पनीका प्रबन्ध निर्देशक नेमकृष्ण मानन्धरका अनुसार मिनी बसमा ८६ किलोवाट घण्टा लिथियम ब्याट्री, पिकपावर ११० किलोवाटको इलेक्ट्रिक मोटर, एयर कण्डिशनर, मोवाइल चार्जर, एयरब्यागका साथै आरामदायी फोल्डिङ सिट रहेका छन् ।

गाडीको अधिकतम् गति ११० किलोमिटर प्रतिघण्टा रहेको उनले जानकारी दिए ।  बस सञ्चालक कम्पनी भवलक्ष्मीका निर्देशक ऋतुप्रसाद चौलागाईंले यस्ता किसिमका बिजुली बसले वातावरण संरक्षणमा योगदान गर्नुको साथै आफ्नै देशमा उत्पादित बिजुलीको खपत भई आयातित इन्धनको समेत प्रतिस्थापन हुने बताए । रासस

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *