एकल पुरुषकाे लागि पनि भत्ताकाे ब्यवस्था

इन्भेष्टाेपेपर । कार्तिक २, २०७७

काठमाडौं । ज्येष्ठ नागरिक, विधवा महिला, असहाय बालबालिका, दलित बालबालिकाले सरकारबाट सामाजिक सुरक्षा भत्ता पाएको हामीले सबैले सुनेकै छौँ।

तर, एकल पुरुषले पनि भत्ता खाएको भने नसुनेको हुनसक्छ। दार्चुलाको अपिहिमाल गाउँपालिकाले एकल पुरुषलाई समेत भत्ता दिन थालेको छ। गाउँपालिकाभरिका एकल पुरुषलाई गाउँपालिकाले गत आर्थिक वर्षबाट रु ५०० का दरले मासिक भत्ता दिन थालेको हो। एकल महिलाजस्तै एकल पुरुष पनि समस्यामा पर्ने गरेका कारण भत्ता दिन थालिएको गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालले बताउनु भयाे।

उनीहरुको आर्थिक अवस्थामा थोरै राहत पुगोस् भन्नका लागि भत्ता दिन थालिएको हो। गाउँपालिकाभरिका २८ एकल पुरुषले गत आर्थिक वर्षदेखि निरन्तर एकल पुरुष भत्ता खान थालेका छन्।

अपिहिमाल गाउँपालिकाका अनुसार वडा नं १ का दुई, वडा नं २ का तीन, वडा नं ३ का नौ, वडा नं ४ का तीन, वडा नं ५ का पाँच र वडा नं ६ का छ जना एकल पुरुषले भत्ता पाइरहेका छन्।

गाउँपालिकाले भत्ता दिन थालेपछि एकल पुरुष पनि खुशी छन्। अपिहिमाल गाउँपालिका–४ का करवीरसिंह ठेकरेले भन्नुभयाे, “गाउँपालिकाले मासिक रु ५०० भत्ता दिएपछि साबुन, नुन, तेल किन्न सहज भएको छ। अझै यो रकम थप गरिदिए हामी एकल पुरुषलाई पनि सहज हुनेछ।”

गाउँपालिकाले ज्येष्ठ नागरिकका लागि वृद्धाश्रम गत वर्ष नै निर्माण गरेको छ। यस्तै गाउँपालिकाले स्वास्थ्य संस्थामा आएर सुत्केरी हुने महिलालाई गाउँपालिकाको तर्फबाट रु एक हजार प्रोत्साहन भत्ता उपलब्ध गराउँदै आएको स्वास्थ्य शाखा प्रमुख राजेन्द्रसिंह धामीले बताउनु भयाे।

प्रोत्साहन रकम पाउने भएपछि गर्भवती महिला स्वास्थ्य संस्थामा आएर सुत्केरी हुन थालेका छन्। (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *