एक्सन रुमलाई प्रभावकारी बनाउन निर्देशन

इन्भेष्टाेपेपर । कार्तिक २७, २०७७ 

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले ‘एक्सन रुम’ को प्रभावकारी सञ्चालन गर्न कार्ययोजना बनाउन निर्देशन दिएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेको ‘एक्सन रुम’ को बुधबार निरीक्षण गर्ने क्रममा उपप्रधानमन्त्री पोखरेलले ‘एक्सन रुम’बाट अहिले भइरहेका समग्र गतिविधि, सञ्चालनमा देखापरेका समस्या र प्रभावकारी कामका निम्ति तत्काल सुधार गर्नुपर्ने विषयमा चासो व्यक्त गरेका हुन् । 

राष्ट्रिय गौरवका आयोजनाहरूको अनुगमन तथा आयोजनालाई अगाडि बढाउन देखापरेका समस्या समाधानका लागि ‘एक्सन रुम’को थप उपयोग गर्नुपर्ने उनले बताए । सम्बन्धित कर्मचारीलाई निर्देशन दिँदै उनले भने, ‘‘नतिजामुखी परिणाम दिनेगरी तत्काल समस्याको समाधानसहित ‘एक्सन रुम’ को प्रभावकारी सञ्चालनका लागि कार्ययोजना बनाउनुहोस् ।’’ 

त्यस अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको नतिजा व्यवस्थापन क्षेत्र हेर्ने सचिव डा. तीर्थ ढकालले ‘एक्सन रुम’ को अहिलेको अवस्थाबारे जानकारी गराएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले सातवटै प्रदेशमा सञ्चालित राष्ट्रिय गौरवका आयोजनाको समस्या तत्काल समाधानका लागि आयोजना प्रमुखहरूसँग प्रत्यक्ष भिडियो संवाद गर्ने व्यवस्थासहित तयार पारिएको ‘एक्सन रुम’ को गत वर्ष जेठ १५ गते उद्घाटन गरेका थिए ।  आजको गोरखापत्र दैनिकबाट ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *