अन्तरबैंक एटीएम शुल्क निर्धारण : मासिक २ पटकसम्म निःशुल्क
इन्भेष्टाेपेपर । पुष २४, २०७७
काठमाडौं । कोराना भाइरसका कारण देशमा बन्दाबन्दीको अवस्था सृजना भएकाे र बैंकहरू पनि बन्द रहेकाले सर्वसाधारणकाे सुविधाकाे लागि राष्ट्र बैंककाे निर्देशन अनुसार अन्तरबैंक एटीएम कारोबार निःशुल्क गरिएकाे थियाे ।
अहिलेकाे अवस्थामा बन्दाबन्दी खुकुलो भएको, सबै बैंक शाखाहरू पनि खुलिसकेकाले वित्तीय संस्थाहरूकाे अनुराेधमा नेपाल राष्ट्र बैंकले माघ १ गतेदेखि लागू हुने गरी अन्तरबैंक एटीएम कारोबारकाे नयाँ शुल्क निर्धारण गरेको छ ।
राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले बिहीवार परिपत्र गर्दै एटीएम प्रयोगकर्ताले जुनसुकै बैंकबाट मासिक २ पटकसम्म नगद झिक्दा निःशुल्क र यसपछि प्रतिकारोबार अधिकतम रू. २० सम्म शुल्क लिन निर्देशन दिएको छ ।
राष्ट्र बैंकको भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन–२०७७ मा संशोधन गर्दै माघदेखि कार्यान्वयन गर्न निर्देशन दिएको हो । उक्त शुल्क निर्धारण गर्दा २ वटासम्म काराेवार निःशुल्क गर्दा ग्राहकहरूलाई पनि राहत पुग्ने तथा बाँकि काराेबारमा शुल्क लिन पाउने व्यवस्थाले बैंकहरूलाई पनि राहत पुग्नेगरि निर्देशन जारी गरिएकाे छ ।
यसैगरि सबै बैंकहरूलाई मर्का नपरोस् भनेर एकरूपता हुनेगरी अन्तरबैंक एटीएम कारोबार शुल्कको सीमा तोकिएको नेपाल राष्ट्र बैंकले जनाएकाे छ ।
