ग्लोबल आइएमई बैंकको सिन्धुली शाखाको औपचारिक उद्घाटन
इन्भेष्टाेपेपर । माघ २२, २०७७
ग्लोबल आइएमई बैंक लिमिटेड सिन्धुलीशाखा कार्यालयको औपचारिक उद्घाटन सम्पन्न भएको छ । बैंकद्वारा आयोजित विशेष कार्यक्रमबीच जिल्ला समन्वय समिति सिन्धुलीका संयोजक शंकर बर्मा तिवारी, प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डे, सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष अमरेश चन्द्र बैदार तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकालले संयुक्त रुपमा शाखाको उद्घाटन गर्नुभएको छ ।
उद्घाटन समारोहमा बोल्दै संयोजक तिवारीले देशकै ठूलो बैंक ग्लोबल आइएमई बैंकले साना किसान तथा व्यवसायीहरुका लागि उत्थानका कार्यक्रमहरु ल्याउनु पर्ने बताउनुभयो । उहाँले बैंकले स्थानीय सरकार, साना व्यवसायी तथा कृषकहरुसँग समन्वय गरेर कामगर्न समेत सुझाव दिनुभयो ।प्रमुख जिल्ला अधिकारी पाण्डेले ग्लोबल आइएमई बैंक मुलुककै उत्कृष्ट बैंकको रुपमा स्थापित हुनेगरी कामगर्न सुझाव दिनुभयो ।
उहाँले लगानी र मुनाफा दुबै हिसाबले यो बैंक आगामी दिनमा मुलुककै एक नम्बर बैंक हुने विश्वास लिएको बताउनु भयो । सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष बैदारले ग्लोबल आइएमई बैंकले व्यवसायी मैत्री सेवा प्रदान गर्न आवश्यक रहेको बताउनुभयो । बैंकका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले ग्लोबल आइएमई बैंकले नेपाल सरकारको नीति तथा कार्यक्रमहरुलाई पालना गर्दै आफ्नो सेवालाई विस्तार गरेको बताउनुभयो । उहाँले बैंकले अबका दिनमा थप सबल र सक्षम बन्दै मुलुकका सबै जिल्लाबाट सरल बैंकिङ्ग सेवा प्रदान गर्ने बताउनुभयो ।
उक्त अवसरमा अध्यक्ष ढकालले भानुभक्त माध्यमिक विद्यालयलाई बैंकको तर्फबाट ७ थान कम्प्युटर समेत हस्तान्तरण गर्नुभएको थियो ।साथै उहाँले निरुशा किराना तथा डेरी पसललाई नगद रहित कारोबारका लागि QR Code Standee हस्तान्तरण गर्नुभएको थियो ।
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले देशका ७४ जिल्लामा फैलिएको २६७ शाखा सञ्जाल सहित २४० एटिएम, ४७ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २४५ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि / सम्पर्क कार्यालय मार्फत आफ्ना २२ लाखभन्दा बढि ग्राहकहरुमाझ सेवा प्रदान गर्दै आइरहेको छ।
