सवारी चालक अनुमतिपत्र परीक्षा खुकुलो, ७० अंक ल्याए पास

इन्भेष्टोपेपर । चैत्र १९, २०७७

काठमाडौं । यातायात व्यवस्था विभागले जेठ १ गतेदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को प्रयोगात्मक परीक्षा खुकुलो बनाउने भएको छ । यसअघि १ सय पूर्णांकको हुने उक्त परीक्षामा पूरै अंक ल्याउनुपर्ने प्रावधान रहेकोमा अब परीक्षार्थीले ७० अंकसम्म मात्र ल्याए पनि लाइसेन्स दिने गरी मूल्यांकनको आधार बनाइएको छ ।

विभागले गत पुस अन्तिम साता सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि २०७७ बनाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पठाएको थियो । उक्त कार्यविधिलाई मन्त्रालयले स्वीकृत गरेको विभागका प्रवक्ता डा. लोकनाथ भुसालले जानकारी दिनुभयाे । ‘मन्त्रालयले स्वीकृति दिएसँगै जेठ १ गतेदेखि नयाँ मापदण्डअनुसार परीक्षा सञ्चालन गर्नेगरी तयारी अघि बढाएका छौं,’ उनले भने ।

विभागले विभिन्न ८ चरणमा लाइसेन्सका लागि परीक्षा लिने गरेको छ । यसअघि उक्त चरणमा कुनै पनि एक गल्ती भएमा उक्त व्यक्ति लाइसेन्सका लागि अयोग्य भएको मानिन्थ्यो । तर, नयाँ मापदण्डअनुसार विभागले मूल्यांकनका लागि अंक विभाजन गरेको छ ।

विभागका अनुसार घुमाउरो आठ बनाउने चरणमा २० पूर्णांक रहेकोमा एकपटकसम्म अंकित रेखामा छोएमा र भुइँमा खुट्टा टेकेमा क्रमशः ५/५ अंक मात्र घटाइनेछ । युटर्न इन्डिकेटर लाइट र ट्राफिक संकेतको पालना नगरेमा यसबाट पाइने जम्मै पूर्णांक अर्थात् क्रमशः १० र १५ अंक काटिनेछ । उबडखाबड चरणमा एकपटकसम्म भुइँमा टेकेमा र सवारी स्टार्ट बन्द भएमा ५/५ अंक काटिनेछ ।

यसैगरि अस्वाभाविक रूपमा सवारी चलाएमा र ब्रेक, टायर तथा ऐनाको निरीक्षण नगरेमा ३/३ अंक अनि हेल्मेटको लक नलगाएमा ४ अंक काट्नेगरी अंक विभाजन गरिएको छ । विभागले उकालोमा २० र साँघुरो फलेक चरणमा १० अंक राखेको छ । यसमा गल्ती भएमा जम्मै अंक काटिनेछ । यीमध्येबाट चालकले कुल गरी ७० अंक मात्र प्राप्त गरे पनि सवारी चालक अनुमतिपत्रका लागि योग्य ठहरिने विभागका प्रवक्ता भुसालले बताउनु भयाे ।

‘कहिलेकाहीँ सामान्य गल्ती हुन्छन्, यत्तिकैमा लाइसेन्सबाट वञ्चित गरिनु अवैज्ञानिक थियो,’ उनले भने, ‘यसैलाई सच्याउन अंकमा आधारित मूल्यांकन प्रणाली शुरू गर्न लागिएको हो ।’ उहाँका अनुसार यसबाहेक चालकले अब आफ्नै सवारीबाट पनि प्रयोगात्मक परीक्षा दिन सक्नेछन् ।

प्रयोगात्मक परीक्षासँगै विभागले लिखित परीक्षामा पनि संशोधन गर्ने भएको छ । यसका लागि विभागले वेबसाइटमै ५ सय देखि १ हजारसम्म प्रश्न राखेर त्यहीँबाट लिखित परीक्षामा प्रश्न सोध्नेछ । तिनै प्रश्नबाट छानेर परीक्षामा प्रश्न सोधिने जानकारी भुसालले जानकारी दिनुभयाे। (आर्थिक अभियानबाट)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *