नेपाल धितोपत्र बोर्ड र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबिच एमओयूमा हस्ताक्षर
इन्भेष्टोपेपर । बैशाख ७, २०७८
नेपाल धितोपत्र बोर्ड र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (ICAN)बिच सूचना आदानप्रदान एवं पारस्परिक सहयोगका लागि समझदारीपत्र तथा सहयोग सम्झौतामा हस्ताक्षर भएको छ।
उक्त सम्झौता पत्रमा बोर्डका तर्फबाट अध्यक्ष भिष्म राज ढुंगाना र ICAN का तर्फबाट अध्यक्ष मदन कृष्ण शर्माले हस्ताक्षर गर्नुभएको छ। हस्ताक्षरका क्रममा बोर्ड अध्यक्ष ढुंगानाले धितोपत्र बजार, धितोपत्र व्यवसायी, सूचीकृत संगठित संस्थाको वित्तीय विवरणको ढाँचा तयार गर्दै NERS कार्यान्वयनमा सहजीकरण गर्न, सूचीकृत कम्पनीहरूको सूचना तथा विवरण प्रवाहमा पूर्णता तथा विश्वसनियता अभिवृद्धि गर्दै लगानीकर्ताहरूलाई पूर्ण सूचना प्रवाह गर्न सहयोग पुर्याउने लगायतका विषयहरूमा आवश्यक प्राविधिक सहयोग तथा परामर्श आदान प्रदान गर्न यो सम्झौता महत्वपूर्ण भएको बताउनुभयो।
यस्तै ICAN का अध्यक्ष शर्माले पछिल्लो समय बोर्डले आफ्नो क्षमता अभिवृद्धि गर्दै नियामकिय दायित्व निर्वाह गर्ने क्रममा सक्रिय रहन थालेकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा बोर्डसँग आवश्यकता अनुसार सूचना तथा जानकारी आदान प्रदान गर्न तथा प्राविधिक सहयोगका लागि ICAN प्रतिबद्ध रहेको बताउनुभयो।
बोर्ड तथा ICAN का उच्च पदाधिकारीहरूको समेत उपस्थितिमा भएको उक्त सम्झौताले आगामी दिनमा सुचीकृत संगठित संस्था, धितोपत्र व्यवसायी तथा धितोपत्र बजारका वित्तीय विवरण, सूचना तथा गतिविधिहरू थप पारदर्शी भै समग्रमा पूँजी बजार स्वच्छ, निष्पक्ष एवं पारदर्शी हुने विश्वास बोर्डले लिएको छ।
