पछिल्लाे २४ घण्टामा ३,७२९ जना सङ्क्रमित थपिए, १,८८५ जना निको
इन्भेष्टोपेपर । श्रावण २२, २०७८
काठमाडौँ । एकैदिन आज तीन हजार ७ सय २९ जनामा कोभिड–१९ पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १५ हजार ६ सय ७५ मा गरिएको परीक्षणमा तीन हजार ७ सय २९ मा सङ्क्रमण देखिएको पुष्टि भएको हो । आज थपिएका सङ्क्रमितसँगै सङ्ख्या सात लाख ७७ हजार ५ सय ८९ पुगेको छ । सक्रिय सङ्क्रमित ३४ हजार ९ सय ४२ जना रहेका छन् ।
काठमाडौँ उपत्यकामा आज ७०१ जनामा सङ्क्रमण पुष्टि भएको छ । काठमाडाैँमा ४ सय ७१, भक्तपुरमा ८३ र ललितपुरमा १ सय ४७ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
विगत २४ घण्टामा एक हजार ८ सय ८५ जना निको भई घर फर्किएका छन् । आजसँगै कुल छ लाख ६५ हजार ५ सय ४८ जना निको भइ घर फर्किएका हुन् । नेपालमा निको हुने दर ९३.७ प्रतिशत छ । यस्तै विगत २४ घण्टामा कोभिडका कारण ३५ जनाको निधन भएको छ । अहिलेसम्म कुल १० हजार १९ जना सङ्क्रमणको कारणले निधन भएको हो ।
यसैगरी ७ सय ३२ जना सघन उपचार कक्ष (आइसियु), १ सय ५८ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् । यस्तै ३१ हजार ४ सय २७ जना होमआइसोलेसन, तीन हजार ५ सय १५ जना संस्थागत आइसोलेसन, ३ सय ५६ जना क्यारेन्टिन रहेका छन् । विगत २४ घण्टामा एक लाख २० हजार ८ सय ९९ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ । (रासस)
