बुद्धभुमिको आईपीओमा २७ गुणा बढी आवेदन, आज ५ बजेदेखि बिक्री बन्द हुँदै
इन्भेष्टोपेपर । आश्विन १४, २०७८
काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज (बिहीवार) अन्तिम दिन रहेको छ । कम्पनीको आईपीओमा मागभन्दा २७ गुणाभन्दा बढी आवेदन परिसकेकाले ४ दिनमै (छिटो अवधिमै) विक्री बन्द हुन लागेको हो ।
विक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार बुधवार साँझ ५ बजेसम्म १५ लाख ९० हजार ४१८ जनाले २ करोड ३ लाख ७ हजार २२० कित्ताका लागि आवेदन दिएका हुन् । यो आवेदन माग भन्दा २७ दशमलव २९ गुणा बढी हो । उक्त आईपीओमा आवेदकले आज (बिहीवार) बैंकिङ समयसम्म आवेदन दिन पाउनेछन् ।
कम्पनीले असोज ११ गतेदेखि रू. ८ करोड बराबरको ८ लाख कित्ता आईपीओ निष्कासन गरेकोमा २ प्रतिशत कर्मचाराहरुको लागि, ५ प्रतिशत सामुहिक लगानी कोषको लागि छुट्याइ बाँकी रहेको ७ लाख ४४ हजार कित्ता आईपीओ सर्वसाधारणको लागि निष्कासन गरेको हो ।
आवेदकले यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० कित्तासम्म आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन तथा विक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
