राष्ट्र बैंकद्वारा राहत पुनर्कर्जाका लागि आवेदन माग

इन्भेष्टोपेपर । कार्तिक १५, २०७८

काठमाडौँ ।  कोरोना प्रभावित उद्योग तथा व्यवसायका लागि राहत दिन नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाहरूलाई पुनर्कर्जाका लागि आवेदन दिन आह्वान गरेको छ । राष्ट्र बैङ्कले आइतबार सर्कुलर जारी गर्दै वाणिज्य बैङ्क, विकास बैङ्क, वित्तीय संस्था र लुघवित्तहरूलाई पुनर्कर्जाका लागि आवेदन दिन आग्रह गरेको हो ।

बैङ्क तथा वित्तीय संस्थाले आगामी मङसिर १९ गतेसम्म आवेदन दिन सक्ने सर्कुलरमा उल्लेख छ ।
राष्ट्र बैङ्कबाट प्राप्त हुने पुनर्कर्जा कोभिड–१९ बाट अति प्रभावित तथा मध्यम प्रभावित क्षेत्रहरूमा प्रवाहित कर्जामा उपलब्ध हुनेछ । बैङ्क तथा वित्तीय संस्थाले प्रदान गरेको असल कर्जाको धितोमा राष्ट्र बैङ्कले ऋण उपलब्ध गराउनेछ ।

पुनर्कर्जाका लागि अति प्रभावित र मध्यम क्षेत्र गरी दुुई खण्डमा वर्गीकरण गरिएको छ । अति प्रभावित क्षेत्र पर्यटन, हवाई तथा पर्यटकीय यातायात, मनोरञ्जन, मनोरञ्जन पार्क, रिक्रिएसनसम्बन्धी व्यवसाय, पार्टी प्यालेस, चलचित्र उत्पादन, सिनेमा हल, रोजगारी गुमेका, कुखुरापालन व्यवसाय, पशुपन्छी, मौरी तथा मत्स्यपालन व्यवसाय छन् ।

तयारी पोसाक, हस्तकला तथा सीपमूलक व्यवसाय, वैदेशिक रोजगार सेवा प्रदायक, निजी तथा आवासीय विद्यालय, यात्रुवाहक स्थल यातायात, ब्युुटीपार्लर, सैलुुन, कस्मेटिक सर्जरीलगायतका सामाजिक तथा व्यक्तिगत सेवाका क्रियाकलाप, कानुुनी, लेखा, इन्जिनियरिङलगायतका परामर्श सेवा पनि अति प्रभावित क्षेत्रमा परेका छन् ।

यस्तै मध्यम प्रभावित क्षेत्रअन्तर्गत खप्ने सामान जस्तै प्लास्टिक, फलाम÷स्टिल, टायर, छाला, धातुुका उत्पादन, घरायसी उपकरण आदि उत्पादन तथा बिक्री वितरणसँग सम्बन्धित उद्योग–व्यवसाय परेका छन् । यस्तै अस्पताल, क्लिनिक, नर्सिङ होम, डायग्नोस्टिक सेन्टर, भण्डारण गर्न सकिने वस्तुु, वन तथा खानीजन्य उद्योग, निर्माण व्यवसाय, औषधि उत्पादन, छपाइ, प्रकाशन तथा सञ्चार गृह, निर्माणाधीन जलविद्युत् तथा नवीकरणीय ऊर्जा, ढुुङ्गा, माटो तथा सिसाका उत्पादन पनि मध्यम प्रभावित क्षेत्रअन्तर्गत रहेका छन् ।

बैङ्क तथा वित्तीय संस्थासँगै अन्य व्यवसाय गर्नेले पनि सर्कुुलरका आधारमा बैङ्कहरूमा आवेदन दिन राष्ट्र बैङ्कले आग्रह गरेको छ ।

राष्ट्र बैङ्कले प्रतिग्राहक १५ लाखसम्मको लघु, घरेलु तथा साना उद्यमको पुनर्कर्जा, पाँच करोड रुपियाँसम्मका विशेष र साधारण पुनर्कर्जा बैङ्क तथा वित्तीय संस्थालाई उपलब्ध गराउने जनाएको छ । पुनर्कर्जाको ब्याजदर ३ प्रतिशतदेखि ५ प्रतिशतसम्म तोकिएको छ । याे समाचार गाेरखापत्र दैनिकमा प्रकाशित भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *