सञ्चालनमा आएको ३ वर्षपछि होङ्शी सिमेन्टमा पुग्यो राष्ट्रिय ग्रिडको विद्युत्

इन्भेष्टोपेपर । कार्तिक २८, २०७८

काठमाडौं । उद्योग सञ्चालनमा आएको झण्डै तीन वर्षपछि होङ्सी सिमेन्ट उद्योगले बिजुली पाएको छ । प्रसारण लाइन निर्माणमा लामो समय लाग्दा उद्योगले डिजल प्लान्ट चलाइरहेको थियो । 

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिकास्थित सर्दीमा सञ्चालनमा रहेको होङ्शी सिमेन्टमा राष्ट्रिय प्रसारणको विद्युत् पुगेको छ ।

उद्योगमा नेपाली र चिनियाँ र लगानीकर्ताको साझेदारी रहेको छ । नेपाल विद्युत् प्राधिकरणले बर्दघाटमा रहेको सवस्टेशनबाट बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइनमार्फत उद्योगलाई विद्युत् आपूर्ति दिएको छ । प्रसारण लाइन तथा सवस्टेशन शनिबार राति ९ बजे चार्ज गरी उद्योगलाई विद्युत् आपूर्ति दिइएको हो ।

प्राधिकरणका सञ्चालक समिति सदस्य भक्तबहादुर पुन, कार्यकारी निर्देशक कुलमान घिसिङ, वितरण तथा ग्राहकसेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाल, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठलगायतको टोलीको उपस्थितिमा प्रसारण लाइन चार्ज गरी उद्योगलाई विद्युत् आपूर्ति दिएको हो ।

होङ्शीले ३० मेगावाट विद्युत् खपत गर्नेछ । उत्पादन क्षमता थप गर्न लागेको उद्योगलाई थप ५० मेगावाट विद्युत् चाहिने छ । त्यसका लागि समेत उद्योगले माग गरिसकेको छ । उद्योगलाई १३२ केभी प्रसारण लाइनमार्फत सिधैँ विद्युत् दिइएको छ । यसका लागि उद्योगले आफ्नो परिसरमा ३१.५ एमभिए क्षमताको ट्रान्सफर्मर जडान गरी विद्युत् आपूर्ति लिएको छ । 

प्राधिकरणका अनुसार ११ र ३३ केभी क्षमताका प्रसारण लाइनबाट विद्युत् लिने ग्राहकको भन्दा १३२ केभीको महसुल सस्तो छ । विद्युत् लाइन पुग्न नसक्दा उद्योगले १ दशमलव ४ मेगावाटका १४ ओटा डिजेल जेनेरेटरमार्फत विद्युत् उत्पादन गरिरहेको थियो । 

यसका लागि दैनिक रुपमा ६० हजार लिटर डिजेल खपत हुँदै आएको उद्योगले जानकारी दिएको छ । कार्यकारी निर्देशक घिसिङले वन क्षेत्रको जग्गा प्रयोग, स्थानीयवासीको अवरोधजस्ता धेरै समस्या कारण  प्रसारण लाइनको निर्माण अझै नसकिएता पनि वैकल्पिक व्यवस्था गरी होङ्शीलाई विद्युत् दिन सकिएको जानकारी दिए ।

होङ्शी सिमेन्ट उद्योगका लागि निर्माण भइरहेको बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइन आयोजनाको निर्माणमा केही ढिला हुने भएपछि वैकल्पिक व्यवस्था गरी उद्योगलाई विद्युत् उपलब्ध गराइएको हो । नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–२ दुम्कीबासमा बर्दघाट–भरतपुर २२० केभी प्रसारणलाई ‘ट्यपिङ’ गरी उद्योगलाई बिजुली दिइएको हो ।

कुल २२० केभी प्रसारण लाइनबाट आएको विद्युत्लाई ट्यापिङ गरी बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइनको दुम्कीबास–सर्दीखण्डमार्फत उद्योगमा विद्युत् आपूर्ति दिइएको हो । 

बर्दबाट–भरतपुर २२० केभी र बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइनको निर्माण सम्पन्न भएको खण्डलाई चार्ज गरी उद्योगलाई विद्युत् दिइएको हो । प्राधिकरणले अन्य उद्योगलाई पनि यसैगरी बिजुली उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । 

कुल २२० केभी क्षमताका प्रसारण लाइनको निर्माणले प्राथमिकता पाएपछि प्राधिकरणले १३२ केभी क्षमताका प्रसारण लाइनलाई वितरण लाइनमा परिवर्तन गरेको छ ।

नवलपरासी, रुपन्देहीका अन्य उद्योगलाईसमेत माग अनुसारको बिजुली उपलब्ध गराउन प्राधिकरणले आवश्यक तयारी गरिरहेको छ । ‘मुलुकभित्र उत्पादित विद्युत्को आन्तरिक खपत बढाउन ठूला उद्योगले मागेजति विद्युत् दिइरहेका छौं, गुणस्तरीय, भरपर्दो र पर्याप्त विद्युत् आपूर्तिका लागि प्रसारण तथा वितरण लाइन र सवस्टेसनको क्षमता बढाउने, सदृढीकरण गर्नेलगायतका काम अभियानकै रुपमा चलाइएको छ, यसको नतिजा छिट्टै देखिने छ’, कार्यकारी निर्देशक घिसिङले भन्नुभयाे । 

ठूला उद्योग स्थापनालाई प्रोत्साहन गर्न विद्युत् महसुललाई समयानुकूल पुनरावलोकन गर्दै लैजाने योजनामा प्राधिकरण छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिमेन्ट उद्योगसम्म विद्युत् पुर्‍याउने घोषणा अनुसार बर्दघाट–सर्दी १३२ केभी २० किलोमिटर डबल सर्किट प्रसारण लाइन बनिरहेको छ । 

वन क्षेत्रको जग्गा प्रयोग तथा रुख कटान स्वीकृतिमा भएको ढिलाइ र निजी जग्गा प्राप्तिको समस्याका कारण केभी प्रसारण लाइनको निर्माण पूर्ण रुपमा सम्पन्न हुन सकेको छैन । 

नेपाल सरकारको करीब रू ४० करोड लगानीमा सो आयोजना निर्माण शुरु गरिएको हो । आर्थिक वर्ष २०७३/७४मा आयोजनाको शुरु गरिएको भए पनि पूरा हुन सकेको थिएन । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *