नेपाल टेलिकम बन्यो उत्कृष्ठ करदाता, कर दिवसमा सम्मानित

इन्भेष्टोपेपर । मंसिर २, २०७८

काठमाडौँ । सरकारले सबैभन्दा बढी आयकर दाखिला गर्ने विभिन्न क्षेत्रका १५ करदातालाई सम्मान गरेको छ । दशौँ कर दिवसका अवसरमा आन्तरिक राजस्व कार्यालयले बुघवार आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले उत्कृष्ट करदाताहरुलाई सम्मान गर्नुभयो । 

नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) सबैभन्दा बढी आयकर दाखिला गर्ने उत्कृष्ट करदता बनेको छ । यस्तै निर्यात कारोबारबाट सबैभन्दा बढी आयकर दाखिला गर्ने डाबर नेपाल (प्रा)लि, विशेष उद्योगमध्येबाट एसियन पेन्टस् (नेपाल) प्रालि र कृषि एवं पशुपक्षीजन्य उद्योगबाट पूर्वाञ्चल एग्रीटेक प्रालि रहेका छन् । 

यस्तै सहकारी तथा लघु वित्तको कारोवार गर्नेबाट छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड, बैंक तथा वित्तीय संस्थाको कारोवार गर्नेबाट नविल बैंक लिमिटेड, बीमा व्यवसायमध्येबाट नेपाल पुनर्बीमा कम्पनी, स्वास्थ्य तथा शिक्षा सेवा प्रदायक संस्थामध्येबाट नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल प्रालि, पर्यटन व्यवसायमध्येबाट तारागाउँ रिजेन्सी होटल्स लिमिटेड र वस्तु व्यापारको कारोबारमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने भाटभेटनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोर प्रालि सम्मानित भएका छन् । 

मध्यमस्तरीय करदातामध्येबाट कर्जा सूचना केन्द्र कम्पनी लिमिटेड, ऊर्जामूलक उद्योगमध्येबाट हिमाल पावर लिमिटेड र सबैभन्दा बढी मूल्यअभिवृद्धि कर र अन्तःशुल्क दाखिला गर्ने सूर्य नेपाल प्रा.लि सम्मानित भएका छन् । २०६६ साउनदेखि २०७८ असार मसान्तसम्म मूल्य अभिवृद्धि करको मासिक कर विवरण र सो बमोजिमको कर समयममै बुझाएर नियमित कर सहभागिता जनाएका मध्ये आव २०७७÷०७८ मा सबैभभ्न्दा बढी मूल्यअभिवृद्धि कर दाखिला गर्ने करदाताका रुपमा घोराही सिमेन्ट इण्डष्ट्री सम्मानित भएको छ । 

यसैगरी व्यक्तिगत आयमध्ये सबैभन्दा बढी आयकर तिर्ने सिद्धार्थशम्सेर राणा पनि सम्मानित हुनुभएको छ । दिवसकै अवसर पारेर विभाग मातहतका विभिन्न कार्यालयमा उत्कृष्ट सेवा प्रवाह गर्ने १० कर्मचारीलाई पनि पुरस्कृत गरिएको थियो । 

उत्कृष्ट करदाताका रुपमा सम्मानित नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्याकारी अधिकृत शंकरकुमार रायमाझीले सम्मानले थप उत्कृष्ट काम गर्न प्रोत्साहित गरेको र पुनर्बीमा कम्पनीलाई सधैँभर उत्कृष्ट बनाउन आफू प्रयत्नशील रहेको बताउनुभयो । आधुनिक एवं वैज्ञानिक कर प्रणालीतर्फको प्रस्थानविन्दुका रुपमा नेपालमा मूल्यअभिवृद्धि कर लागू भएको दिनको स्मरण गर्दै हरेक वर्ष मंसिर १ गते कर दिवस मनाउन थालिएको हो ।  (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *