रेलेखोला जलविद्युत् आयोजनाको प्रारम्भिक चरणको काम शुरू

इन्भेष्टोपेपर । मंसिर १२, २०७८

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना निर्माण शुरू भएको छ । ह्युम कन्सल्ट प्रालि प्रवद्र्धक रहेको आयोजनाको सिभिल ठेकेदार साकुरा पावर कन्ट्रक्सनले बाँध, पाइपलाइन र विद्युत्गृह निर्माण शुरू गरेको हो ।

आयोजनाका साइट इञ्चार्ज आयुश शर्मा भट्टराईले कार्यक्षेत्रमा आएको सिभिल ठेकेदारले प्रारम्भिक चरणको काम शुरू गरेको बताउनु भयाे। ‘आगामी १८ महिनामा सम्पन्न गर्ने कार्ययोजना अनुसार सिभिल ठेकेदार साइटमा परिचालन भएको छ,’ उहाँले भन्नुभयाे, ‘बाँध, विद्युत्गृह र पाइपलाइन निर्माण एकैसाथ अघि बढाएका छौं ।’ नारच्याङको बेँशी गाउँदेखि लेकगाउँ हुँदै खोपारालेकको फेदीस्थित बाँध र रेलेखर्कस्थित विद्युत्गृह निर्माणस्थलसम्म १७ किलोमिटर पहुँचमार्ग निर्माण सकिएको छ ।

२०७५ सालदेखि शुरू भएको पहुँचमार्ग निर्माण गत महिना सकिएपछि सिभिल ठेकेदार परिचालन भएको आयोजनाका जनसम्पर्क अधिकृत होमनाथ पाण्डेले बताउनु भयाे । ‘छहरा, हकनी, गौडाका अक्करे पहाडमा एक्स्क्याभेटर र मजदूर परिचालन गरेर सडक बनाउन धेरै समय लाग्यो,’ उहाँले भन्नुभयाे, ‘ग्याबिन र मेशिनरी पर्खाल लगाएर सडक स्तरोन्नति काम जारी राख्दै सिभिल निर्माण अघि बढाएका हौं ।’

रेलेखोलाले पहुँचमार्ग बनाएपछि १५० घरधुरीको बसोवास रहेको नारच्याङको लेकगाउँ सडक सञ्जालसँग जोडिएको छ । यसअघि स्थानीयवासी, तत्कालीन जिविस र गाउँपालिकाले रू. १ करोडभन्दा बढी खर्च गरे पनि बेँशीदेखि लेकगाउँ जोड्ने सडकको बीचमा रहेको पहाड छिचोल्न नसकेर अलपत्र परेको थियो । ‘हामीले करिब पाँच वर्षदेखि निरन्तर प्रयास गर्दा पनि सडक निर्माण गर्न सकेका थिएनाैँ,’ लेकगाउँका श्याम पुर्जाले भन्नुभयाे, ‘आयोजनाले सडक बनाएपछि स्थानीयवासीलाई पनि आवतजावत, ढुवानी र निकासीमा सहज भएको छ ।’

बेँशीगाउँबाट लेकगाउँ पुग्न यसअघि एक घण्टा लाग्ने गरेकोमा अहिले २० मिनेटमै पुग्न सकिने भएको छ । नारच्याङको बेँशी गाउँको शिरानमा रहेको म्रिस्तीखोला जलविद्युत् आयोजनाको आउटलेटदेखि पहुँचमार्ग निर्माण शुरू गरेको थियो । खोपाराको फेदीमा पर्ने रेलेखर्क भन्ने ठाउँमा बाँध र घलेम्दी जलविद्युत् आयोजनाको इन्टेक नजिकै हरिस्वारामा विद्युत् गृह निर्माण गर्न ८० रोपनी जग्गा व्यवस्थापन भएको छ ।

सुरुङ र नहरको विकल्पमा बाँधदेखि चार किलोमिटर मुख्य पाइपलाइनबाट पानी ल्याइने भएको छ । १.६ किलोमिटर पेनस्टेक पाइप रहने भएको छ । प्रतिमेगावाट २० करोडको लागत अनुमान गरिएको रेलेखोला आयोजनामा बैंकको लगानी पनि जुटेको छ । कुल लागतको ५० प्रतिशत हिमालयन र २० प्रतिशत राष्ट्रिय वाणिज्य बैंकले लगानी गर्ने सम्झौता भएको छ । आयोजनाले उत्पादन गरेको विद्युत् ५ किलोमिटर ३३ केभी क्षमताको प्रसारण लाइन बनाएर दानास्थित २२० केभी क्षमताको सबस्टेशनबाट केन्द्रीय ग्रिडमा जोड्ने योजना छ ।

नारच्याङमा हाल २ मेगावाट क्षमताको तातोपानी साना, ४२ मेगावाट क्षमताको म्रिस्तीखोला र ५ मेगावाट क्षमताको घलेम्दीखोला जलविद्युत् आयोजना सञ्चालनमा रहेका वडाध्यक्ष चन्द्रप्रकाश फगामीले बताउनुभयाे। नीलगिरि हाइड्रोपावरले ११० मेगावाट क्षमताको नीलगिरि पहिलो र नीलगिरि क्यासकेड जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *