विभिन्न समूह र सहकारीमार्फत रोजगारी अभियान सञ्चालन गरिने

इन्भेष्टोपेपर । मंसिर १३, २०७८

काठमाडौँ ।  अर्थमन्त्री जनार्दन शर्माले कृषि सहकार्य समूह, उत्पादन समूह, श्रम सहकारीमार्फत उत्पादन र रोजगारीको अभियान सञ्चालन गरिने बताउनुभएको छ । रुकुममा आयोजित एक कार्यक्रममा उहाँले गुणस्तरीय शिक्षाका लागि सरकारले हरेक विद्यालयहरूलाई उद्यमशील बनाउने नीतिअन्तर्गत सरकारले पढ्दै कमाउँदै कार्यक्रम ल्याएको जानकारी दिनुभयो ।

कम्तीमा १२ कक्षा उत्तीर्ण विद्यार्थी स्वरोजगार हुने खालको शिक्षा नीति सरकारले ल्याएको पनि उहाँले बताउनुभयो । “आगामी शैक्षिक सत्रदेखि देशका विभिन्न स्थानमा ‘डिजिटल लर्निङ सेन्टर’ स्थापना गरी आधुनिक प्रविधिको माध्यमबाट अडियो भिडियोसहित पठनपाठन गराउने तयारी रहेको छ,” उहाँले भन्नुभयो ।

सरकारले पहिलो पटक गरिब र विपन्नलाई सम्झेर पाँच लाख परिवारलाई १० हजारका दरले आर्थिक राहत वितरण गर्न लागेको उहाँले जानकारी दिनुभयो । त्यस्तै दीर्घ रोगी, घाइते, अपाङ्गता भएका राजनीतिक आन्दोलनका शहीद परिवारलाई पनि मासिक रकम प्रदान गर्न लागिएको उहाँले बताउनुभयो । हरेक पालिकामा कम्तीमा ५०० युवालाई स्वरोजगार बनाउने कार्यक्रम ल्याइएको, कृषि बीमाको प्रिमियम अनुदान ८० प्रतिशत पु-याइएकोलगायतका दर्जनौँ जनमुखी कार्यक्रम ल्याइएको पनि उहाँले जानकारी दिनुभयो ।

मन्त्री शर्माले गरिबी र अभावको अन्त्य गरेर मात्र संविधानले परिकल्पना गरेको समाजवादमा जान सकिने पनि बताउनुभयो । “गरिबको जीवनस्तरमाथि नउकासेसम्म समाजवादमा जान सम्भव छैन,” उहाँले भन्नुभयो, “समग्र विकास र सम्पन्नताको जगमा मात्र समाजवाद खडा हुनसक्छ । ” मुलुकको समग्र विकास र गुणस्तरीय विकास सरकारको लक्ष्य रहेको भन्दै उहाँले गठबन्धन सरकार त्यसतर्फ केन्द्रित रहेको जानकारी दिनुभयो । याे समाचार गाेरखापत्रमा प्रकाशित भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *