मेगा बैंकको ११औं बार्षिक साधारणसभा : १२ प्रतिशत लाभांश पारित

इन्भेष्टोपेपर । मंसिर २९, २०७८

काठमाण्डाैँ । मेगा बैंक नेपाल लिमिटेडले शेयरधनीहरुका लागि बोनस शेयरसहित १२ दशमलव ०७ प्रतिशत लाभांश पारित गरेको छ ।

काठमाडौँमा मंगलबार सम्पन्न मेगा बैंकको एघारौं बार्षिक साधारण सभाले आर्थिक वर्ष २०७७/७८ सम्म सञ्चित मुनाफा एवं वितरणयोग्य रकम मध्येबाट हाल कायम चुक्ता पुँजीको १२ दशमलव ०७ प्रतिशतले हुन आउने १ अर्ब ७६ करोड ८८ लाख ५४ हजार २ सय ७० रुपैँया ३८ पैसा लाभांश पारित गरेको हो । त्यसमध्ये चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने १ अर्ब ४६ करोड ५४ लाख ९६ हजार ४ सय ९५ रुपैँया ७६ पैसा बोनस शेयर र २ दशमलव ०७ प्रतिशतले हुन आउने रकम ३० करोड ३३ लाख ५७ हजार ७ सय ७४ रुपैंया ६२ पैसा नगद लाभांश साधारण सभाले पारित गरेको छ ।

साधारण सभाले बैंकमा वैदेशिक रणनीतिक साझेदार ल्याउन सञ्चालक समितिलाई अख्तियारी पनि दिएको छ । यसैगरी, गाभ्ने अथवा गाभिने (मर्जर) र प्राप्ति गर्ने सम्बन्धमा आवश्यकता अनुसार मर्जर समिति गठन गर्न, समझदारी गर्न, मुल्यांकनकर्ता नियुक्त गर्न र शेयर आदानप्रदान अनुपात निर्धारण लगायतका कार्यका लागि साधारण सभाले सञ्चालक समितिलाई अख्तियारी दिएको छ ।

साधारण सभामा मन्तव्य राख्दै मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले निक्षेप संकलन, व्यापार प्रवद्र्धन र लगानीकर्ताको जेथा वृद्धि र लाभांशको दृष्टिकोणले पहिलो पाँचौँ बैंक भित्र स्थापित गर्ने लक्ष्य लिइएको जानकारी दिनुभयो ।

अध्यक्ष शाहले मेगा बैंकले गरेको व्यापार प्रवद्र्धनका आधारमा प्राप्त मुनाफाबाट राष्ट्रलाई ३० प्रतिशतका दरले कर भुक्तानी गरेर आर्थिक बर्ष २०७७/०७८ मा एक अर्ब एक करोड सत्र लाख पच्चीस हजार पाँच सय त्रिहत्तर रुपैया राजश्व दाखिला गरेको बताउनुभयो । उहाँका अनुसार, मेगा बैंकले गत वर्षको तुलनामा ५१% बढी राजश्व दाखिला गरेको छ ।

साधारणसभालाई सम्बोधन गर्दै मेगा बैंक नेपाल लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले बैंकको संचालन सुव्यवस्थित किसिमले परिलक्षित बाटोमा आधार शिविरहरु खडा गर्दै गन्तव्यको उचाई तर्फ अग्रसर भएको बताउनुभयो । ‘हामीले कोरोनाको कहरबाट थलिएको उद्योग÷व्यवसाय र अर्थतन्त्रमा पनि सम्भावनाहरुको खोजी गर्दै व्यापार प्रवद्र्धनलाई त्यतातर्फ मोडेका छौं । जसका कारण मेगा बैंकको वित्तिय परिसचूक सन्तोषजनक रहेको छ ।’– सिइओ खुञ्जेलीले भन्नुभयो ।

चालु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिसम्म बैंकको कुल निक्षेप २ अर्ब ९९ करोड रुपैँयाले बृद्धि भई १ खर्ब ४८ अर्ब २८ करोड रुपैँया पुगेको छ । यसैगरी, खुदकर्जा ८ अर्ब ५० करोड रुपैँयाले बृद्धि भई १ खर्ब ४४ अर्ब ५० करोड रुपैँया पुगेको छ । चालु आर्थिक पहिलो त्रैमासमा बैंकले ९१ करोड ४७ लाख रुपैँया खुद मुनाफा आर्जन गरेको छ ।

दिगो विकासका साथ नयाँ प्रविधिसहित अघि बढ्दै गरेको मेगा बैंकलाई आधुनिक प्रविधिमैत्री ‘डिजिटलाइज्ड बैंक’ बनाउन चाहेको सिइओ खुञ्जेलीले बताउनुभयो । बन्दाबन्दीको अवस्थामा पनि बैंकले सर्वसाधारणहरुलाई बैंकिङ सेवा र सुविधाहरु अटुट रुपमा प्रदान गरेको स्मरण गर्दै सिइओ खुञ्जेलीले डिजिटल प्रडक्ट विभाग स्थापना गरी अत्याधुनिक सेवाहरु सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो । ग्राहकलाई आफ्नै घरमा बसी भिडियोमार्फत कुराकानी गरी खाता खोल्ने सुविधा स्वरुप मेगा बैंकले नेपालमै पहिलो ‘भिडियो अकाउन्ट ओपनिङ सिस्टम’, ‘च्याटबट’, टिक बैंकिङ जस्ता सेवा संचालनमा ल्याएको उहाँले बताउनुभयो ।

अहिले उपत्यका र उपत्यकाबाहिर गरी मेगा बैंकका २०३ वटा शाखा कार्यालयहरु, २४ वटा एक्सटेन्सन काउन्टरहरु, १ सय ३९ वटा एटीएम मेशिन तथा ५९ वटा शाखारहित बैंकिङ केन्द्रहरु रहेका छन् ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *