विवेकशील साझाले ‘महाकाली-मेची राष्ट्रिय एकता यात्रा’ गर्ने

इन्भेष्टोपेपर । पुष ७, २०७८

काठमाण्डाैँ । विवेकशील साझा पार्टीले यही पुष २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर ‘महाकाली-मेची राष्ट्रिय एकता यात्रा’ सुरु गर्ने भएको छ। सो यात्रा कञ्चनपुरबाट पुष २७ गते सुरु गरिनेछ र सहिद दिवसको दिन माघ १६ गते झापामा आएर अन्त्य हुनेछ।

पार्टीको हिजो बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले उक्त निर्णय गरेको हो। यात्राको विस्तृत विवरण पछि प्रकाशित गर्ने जनाएकाे छ।

नागरिकहरूका आ-आफ्ना वैचारिक दृष्टिकोण भए पनि “विचारभन्दा माथि देश” नै हो भन्ने भावना प्रवर्द्धन गर्नु, राष्ट्रिय एकता तथा देशको स्वाधीनता, शान्ति, स्थिरता, विकास र दूरगामी हितलाई सुनिश्चित गर्ने विवेकशील साझा पार्टीका एजेण्डा आम सर्वसाधारणसम्म पुर्‍याउनु, पार्टीको आम नागरिकसँगको सम्बन्धलाई अझ मजबुत बनाउनु र जातीय, क्षेत्रीय तथा धार्मिक रूपमा बढ्दै गएको मनोवैज्ञानिक दूरी कम गर्न सघाउनु राष्ट्रिय एकता यात्राको मूल उद्देश्य हुनेछ।

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र भन्छन्, “देशको स्वार्थ गौण र राजनीतिकर्मीको स्वार्थ प्रधान हुँदै जाँदा एकतर्फ नेपालको स्वाभिमान अत्यधिक रूपमा क्षयीकृत हुँदै गएको र राजनीतिकर्मीहरूले देशलाई शिरमा नराख्दा सुशासनको अपेक्षै गर्न नसक्ने स्थितिमा हामी पुगेका छौँ। त्यसैले सबैभन्दा माथि देश नै हो भन्ने भावना हामी सबैमा जागृत हुनुपर्‍यो। सो भावना प्रवर्द्धनको शुभारम्भ गर्ने दिन राष्ट्रिय एकता दिवस बाहेक अर्को हुन सक्दैनथ्यो।”

विवेकशील साझा पार्टीले आफ्ना सम्पूर्ण नेता, सदस्य र शुभेच्छुकहरूलाई पार्टीको यो विशेष यात्रामा साथ दिन हार्दिक अनुरोध समेत गरेकाे छ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *