राष्ट्रिय एकता दिवस साझा राष्ट्रिय सङ्कल्प पूरा गर्न प्रेरणा प्रदान गर्ने विश्वास: राष्ट्रपति भण्डारी

इन्भेष्टोपेपर । पुष २७, २०७८

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले वीर पुर्खाको बलिदानबाट निर्माण भएको यस मातृभूमिलाई उन्नतिको मार्गमा लैजाने अभिभारा हामी सबैको भएको बताउनुभएको छ । राष्ट्रपतिले भन्नुभएको छ, “यस युगीन दायित्वलाई कार्यरूपमा उतार्दै मुलुकको राष्ट्रियता, राष्ट्रिय एकता र सार्वभौमसत्तालाई अक्षुण्ण राखी ‘समृद्ध नेपाल सुखी नेपाली’ को साझा राष्ट्रिय सङ्कल्प पूरा गर्न आजका दिनले प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास लिएको छु ।”

नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३००औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा उहाँप्रति श्रद्धासुमन अर्पण गर्दै उहाँले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । देशभक्तिको भावनाले ओतप्रोत हाम्रा पूर्वजको गौरवपूर्ण योगदान र सचेत प्रयत्नका कारण नेपाल सदैव स्वाधीन र सार्वभौम राष्ट्रका रूपमा रहेको राष्ट्रपतिको भनाइ छ ।

तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहको नेतृत्वमा तराई, पहाड र हिमालका नागरिकले नेपाल राष्ट्रको भौगोलिक र भावनात्मक एकीकरणमा ठूलो योगदान गरेको तथ्य इतिहासमा अङ्कित रहेको राष्ट्रपतिले स्मरण गर्नुभएको छ । राष्ट्रपतिले सन्देशमा भन्नुभएको छ, “नेपाल एकीकरणको अभीष्ट मुलुकभित्र उपलब्ध प्राकृतिक स्रोत तथा सम्पदाको उपयोग गरी आत्मनिर्भर, स्वाधीन र स्वावलम्बी अर्थन्तन्त्रसहितको सबल राष्ट्र निर्माण गर्नु नै थियो ।”

नेपाल एकीकरणमार्फत यहाँका मौलिक संस्कृति, भाषा र परम्परालाई संरक्षण गरी सदृढ राष्ट्रिय एकता निर्माण गर्ने फराकिलो आधार भूमिसमेत तयार भएको राष्ट्रपतिको सन्देशमा उल्लेख छ । सन्देशमा अगाडि भनिएको छ, “तत्कालीन समयमा पृथ्वीनारायणले देशको सामाजिक, आर्थिक एवं वैदेशिक नीतिका सन्दर्भमा छाडेर गएका सन्देश वर्तमान अवस्थामा पनि उत्तिकै मननीय रहेका छन् ।” महत्वपूर्ण राजनीतिक परिवर्तनपछि आर्थिक समृद्धि हासिल गर्नुपर्ने वर्तमान चरणमा नेपाल एकीकरण अभियानका नायक पृथ्वीनारायण शाहका दूरदर्शी विचारलाई आत्मसात् गर्दै अघि बढ्न सके मुलुकको सामाजिक–आर्थिक रूपान्तरणमा योगदान पुग्न जाने राष्ट्रपतिले सन्देशमा उल्लेख गर्नुभएको छ । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *