नेपाल टेलिकमले अन्तर आबद्धता शुल्क माघ १८ गतेदेखि घटायाे
इन्भेष्टोपेपर । माघ २०, २०७८
काठमाण्डाैँ । कुनै पनि दूरसञ्चार सेवा प्रदायकका ग्राहकले अर्को दूरसञ्चार सेवा प्रदायकको नेटवर्कमा रहेका ग्राहकलाई टेलिफोन तथा एसएमएस गर्दा लागु हुने “अन्तरआबद्धता शुल्क” नेपाल टेलिकमले २०७८ माघ १८ गतेदेखि लागु हुनेगरि घटाएकाे छ ।
नेपाल टेलिकमका ग्राहकवर्गले अर्को सेवा प्रदायकको नेटवर्कमा रहेका ग्राहकलाई भ्वाइस कल गर्दा लागु गर्नुपर्ने महशुलदर स्वीकृतिका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा पठाएकोमा नेपाल दूरसञ्चार प्राधिकरणको २०७८ माघ १६ र १८ गतेको निर्णयानुसार स्वीकृत भई आएकोले परिमार्जित महशुल दर मिति २०७८ माघ १८ गते (तदनुसार १ फेबु्रअरी २०२२) देखि कार्यान्वयनमा ल्याएको हो ।
नयाँ अन्तर्देशीय अन्तरआबद्धता कार्यान्वयन भए पश्चात् एउटा सेवा प्रदायकको नेटवर्कमा रहेको ग्राहकले अर्को सेवा प्रदायकको नेटवर्कमा रहेको ग्राहकलाई कल गर्दा लागु हुने महशुल दर परिमार्जन भई शुल्कमा कमी आउने छ ।
अब कम्पनीको तारवाला फोनबाट अर्को सेवा प्रदायकको मोबाइलमा कल गर्दा महशुल दर प्रति मिनेट एक रुपैयाँ १० पैसा मात्र कायम हुनेछ । यसैगरी कम्पनीको जीएसएम, सीडीएमए र सि फोन पोस्टपेडबाट अर्को सेवाप्रदायकको नेटवर्कमा कल गर्दा महशुलदर प्रति मिनेट एक रुपैयाँ ८ पैसा तथा कम्पनीको जीएसएम, सीडीएमए र सि फोन प्रिपेड सेवाबाट अर्को सेवा प्रदायकको नेटवर्कमा कल गर्दा महशुलदर प्रति मिनेट एक रुपैयाँ ६२ पैसा कायम हुनेछ ।
साथै, कम्पनीको जीएसएम तथा सीडीएमए सेवाको पोस्टपेड र प्रिपेडबाट अन्य सेवा प्रदायकको नेटवर्कमा सन्देश पठाउँदा लाग्ने शुल्क प्रति सन्देश एक रुपैयाँ १० पैसा कायम हुनेछ ।
