नेपाल टेलिकमको १८औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न
इन्भेष्टोपेपर । माघ २२, २०७८
काठमाण्डाैँ । नेपाल टेलिकमले आफ्नो स्थापनाको १८औं वार्षिकोत्सव कार्यक्रम आज सम्पन्न गरेको छ । कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव तथा कम्पनी सञ्चालक समितिका अध्यक्ष डा. बैकुण्ठ अर्यालले अध्यक्षता गर्नुभएको थियो ।
समारोहमा कार्यक्रमका प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय ज्ञानेन्द्र बहादुर कार्कीले मुलुकको दूरसञ्चार क्षेत्रमा रहेको तीव्र प्रतिस्पर्धामा कम्पनीलाई अग्रणी तथा जिम्मेवार सेवा प्रदायकको रुपमा निरन्तर स्थापित गर्न राष्ट्रिय गौरवको एलटीई प्रविधिको फोरजी आयोजना र मध्यपहाडी राजमार्गमा अप्टिकल फाइबर बिछ्याई सूचना महामार्ग निर्माण गर्न राज्यले सुम्पिएको अभिभारा निर्धारित समयमा नै सम्पन्न गर्न निर्देशन दिनुभयो ।
सो अवसरमा उहाँले देशका सबै स्थानीय तहमा तीव्र गतिको इन्टरनेट सुविधा पुर्याई मुलुककै आर्थिक, सामाजिक, शैक्षिक क्षेत्रको विकास तथा आम जनतालाई छिटो र प्रविधिमैत्री सेवा पुर्याउने गुणस्तरीय एफटीटीएच सेवाको विस्तार मागबमोजिम गर्नुपर्ने बताउनु भयो । सोही कार्यक्रममा प्रमुख अतिथिबाट भर्चुअल माध्यमबाटै कम्पनीको अठारौं वार्षिकोत्सवको उपलक्ष्यमा तयार पारिएको स्मारिका र भोल्टी सेवाको व्यावसायिक शुभारम्भ गरिएको थियो ।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव तथा कम्पनी सञ्चालक समितिका अध्यक्ष डा. बैकुण्ठ अर्यालले ग्राहकसंख्या मात्र बढाएर नपुग्ने उल्लेख गर्दै सक्रिय ग्राहकसंख्याको बढोत्तरी र राजश्वमा वृद्धि हुनुपर्ने तर्फ सचेत गराउनु भयो । उहाँले ‘कम्पनीका सेवाहरु यति दिगो र गुणस्तरीय हुनुप¥यो कि एकपटक प्रयोग गरिसकेपछि ग्राहकले यसलाई छाड्नै नसकुन्’ भन्नुभयो ।
उहाँले यस्तो सेवा मुलुकभर विस्तार गर्न कम्पनीलाई बाधा पारेका पक्षहरुको पहिचान गरी चुनौतीको सामना गर्नुपर्ने बताउनु भयो । कोभिडको समयमा पनि निरन्तर रुपमा सेवाहरु उपलब्ध गराइरहन सहयोग पु¥याउने सम्बन्धित निकायहरु र कर्मचारीवर्गलाई उहाँले धन्यवाद दिनुभयो ।
नेपाल टेलिकमका निमित्त प्रबन्ध निर्देशक प्रतिभा वैद्यले कम्पनीको समग्र अवस्थाका बारेमा जानकारी गराउँदै कम्पनीले १८औं वार्षिकोत्सवका अवसरमा मुलुकभर फोरजी मोबाइलमा चलाउन मिल्नेगरी आकर्षक विशेषतासहितको भोल्टी सेवाको व्यावसायिक शुरुवात गरेको जानकारी गराउनु भयो ।
वार्षिकोत्सवकै अवसरमा कम्पनीका विभिन्न सेवाहरु कुल १४ वटा अनाथालय र वृद्धाश्रममा सहयोगस्वरुप निःशुल्क उपलब्ध गराउने, सातै प्रदेशका कम्तिमा एक/एकवटा सरकारी र सामुदायिक विद्यालयहरुमा खेलकुद सामग्री र निःशुल्क डाटा सेवा उपलब्ध गराउने, सदर चिडियाखाना जावलाखेलमा रहेका बाघ लगायतका जनावर र चराचुरुंगीहरुका लागि एक वर्षसम्म आहाराको प्रायोजन गरिने उहाँले बताउनु भयो ।
