महाशिवरात्रिको तयारीका लागि पशुपति क्षेत्रमा सफाइ

इन्भेष्टोपेपर । फागुन १५, २०७८

काठमाडौं ।  महाशिवरात्रिको तयारीका लागि पशुपति क्षेत्रको बागमती किनार एवं सम्पदा क्षेत्रमा सफाइ गरिएको छ । पशुपति क्षेत्रको आर्यघाट, बागमती किनार एव हंसमण्डप वरपर सफाइ गरिएको हो । यही फागुन १७ गते महाशिवरात्रि पर्व परेको छ । बागमती सफाइ महाअभियानको ४५९औँ हप्तामा पशुपति क्षेत्रमा सफाइ गरी महाशिवरात्रिका लागि तयारी गरिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिनुभयो । सफाइबाट सात मेट्रिकटन फोहाेर व्यवस्थापन गरिएको छ ।

सफाइमा प्रदेशसभा सदस्य केशव स्थापित, पूर्वमुख्य सचिव एवं अभियानकर्मी लीलामणि पौडेल, अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमिल्सिना, नायिका करिश्मा केसी मानन्धर, स्थानीय तहका जनप्रतिनिधि, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, काठमाडौं महानगरपालिका वातावरण विभागका कर्मचारी, पशुपतिक्षेत्र विकास कोषका कर्मचारी, अधिकारसम्पन्न बाग्मती समितिका कर्मचारी र बाग्मती सफाइ अभियानकर्मीको सक्रियता थियो ।

गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा सफाइ

यसैगरी, महाशिवरात्रिको तयारीकै लागि गोकर्णेश्वर महादेव मन्दिरलाई केन्द्रित गरेर सफाइ गरिएको छ । गोकर्णेश्वर महादेव मन्दिरमा पनि महाशिवरात्रिलगायत पर्वमा भक्तजनको भीड लाग्ने भएकाले तीर्थयात्रीको सुविधाका लागि सफाइ गरिएको अभियानकर्मी उत्तम पुडासैनीले जानकारी दिनुभयो ।

पशुपतिनाथ मन्दिरमा श्रीयन्त्र र गोकर्णेश्वर महादेव मन्दिरमा बालयन्त्रको पूजा गरिने भएकाले पनि महाशिवरात्रिमा पनि यहाँ भक्तजनको भीड लाग्ने गरेको छ । वाग्मती सुन्दरता सरोकार मञ्चको नेतृत्वमा मुहानदेखि नै वाग्मती सफाइ गर्दै आइएको छ । यस क्षेत्रको सफाइमा कुहिने र नकुहिने फोहाेर वर्गीकरण गरिएको छ । कुहिने फोहाेर जमिन गाडिने र नकुहिने फोहाेरमात्र व्यवस्थापन गर्ने गरिएको छ । यस क्षेत्रको सफाइ ‘जिरोवेस्ट’ प्रणालीमा हुँदै आएको छ ।

यसैगरी, मनोहरा सफाइ अभियानको २५८औँ हप्तामा काठमाडौं महानगरपालिका –३२ स्थित जडीबुटी पुलछेउमा सफाइ गरिएको छ । साठी अभियानकर्मीको सक्रियतामा भएको सफाइबाट एक गाडी फोहाेर व्यवस्थापन गरिएको संयोजक चन्द्र दङ्गालले जानकारी दिनुभयो ।

यसैगरी, आज काठमाडौं उपत्यकाका रुद्रमती, विष्णुमतीको तल्लो र माथिल्लो भेग, चक्रपथका उत्तरी र पश्चिमी खण्ड, बागमतीका विभिन्न खण्ड, ललितपुरको गोदावरी खोला र भक्तपुरको हनुमन्ते खोलालगायत स्थानमा पनि सफाइ गरिएको छ । बाग्मती सफाइ महाअभियानबाट प्रेरित भई यसका सहायक नदीमा सफाइ अभियान सुरु भएको हो ।

हाल काठमाडौं उपत्यकाका २५ स्थानमा सफाइ भइरहेको छ । यसैगरी, महाअभियानबाट प्रेरित भएर काठमाडौं उपत्यका बाहिरका मुख्य शहर, नदी र सम्पदास्थलमा सफाइ भइरहेको छ । काठमाडौं उपत्यका बाहिर १०९ स्थानमा सफाइ भइरहेको जनाइएको छ । विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको महाअभियान चाडपर्व, जाडो, गर्मी, भूकम्प, नाकाबन्दी, कोरोना महामारीजस्ता विपत्तिका बेला पनि रोकिएको छैन । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *