नेपालमा पहिलो पटक विना अप्रेसन मुटुकाे कृत्रिम भल्भ प्रत्यारोपण

इन्भेष्टोपेपर । फागुन २१, २०७८

काठमाण्डाै । नेपालमा पहिलो पटक विनाअप्रेसन मुटुको कृत्रिम भल्भको सफल प्रत्यारोपण भएको छ । शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले ८० वर्षीया महिलाको मुटुमा कृत्रिम भल्भ राखेको हो।

केन्द्रका निर्देशक डा. चन्द्रमणि अधिकारीले मुटुको एओर्टिक भल्भ साँधुरो भएपछि भल्भको ठाउँमा नयाँ कृत्रिम भल्भ राखिएको जानकारी दिनुभयो । उहाँले नेपालमा पहिलो पटक सफलतापूर्वक ‘ट्रान्सक्याथर इरोटिक भल्भ इम्प्लामेन्टेशन (टीएभीआई) विधिबाट महिलाको सफलतापूर्वक भल्भको प्रत्यारोपण गरिएको जानकारी दिनुभयो ।

यसविधि अनुसार तिघ्राको धमनी फिमोरल आर्टरीबाट एक विशेष किसिमबाट निर्मित तार अर्थात क्याथेटरद्वारा मानवनिर्मित भल्भ मुटुभित्र छिराइ रोग भएको एओर्टिक भल्भको ठाउँमा प्रत्यारोपण गरिन्छ ।  

प्रत्यारोपण भएको भल्भले तुरुन्तै काम सुरु गर्ने हुँदा बिरामीलाई चाँडै नै आराम महसुस हुने डा. अधिकारीले बताउनुभयो । केन्द्रले ती बिरामी महिलाको सोमवार भल्भ प्रत्यारोपण गरेर हिजो डिस्चार्ज गरेको जनाएको छ ।

मुटुको एओर्टिक भल्भ साँघुरो भएपछि मानिसमा छाती दुख्ने, बेहोस हुने र रिँगटा लाग्ने गर्छ । एओर्टिक भल्भ वयस्क मानिसमा शल्यक्रियाद्वारा उपचार गर्न सकिन्छ भने वृद्धाअवस्थामा शल्यक्रिया गर्न असहज भएको भल्भ नै प्रत्यारोपण गर्नुपर्ने हुन्छ ।

नेपालमा नै कृत्रिम भल्भको सफल प्रत्यरोपण गरेपछि अब भल्भ परिवर्तन गर्नका लागि भारतलगायत विदेशमा महँगाे खर्च गरेर जान नपर्ने भएको केन्द्रका निर्देशक डा. अधिकारीले बताउनुभयो। कृत्रिम भल्भ नेदरल्यान्डबाट खरिद गरी ल्याइएको हो ।

डा. अधिकारीको नेतृत्वमा २२ जनाका टोलीले भल्भको सफल प्रत्यारोपण गरेको हो । यस किसिमको प्रत्यारोपण अब नेपालमा हुने भएपछि धेरै बिरामीको उपचार गर्न सकिने उहाँले बताउनुभयो। सन् २००२ देखि यस किसिमको कृत्रिम भल्भ फ्रान्समा पहिलो पटक गरिएको थियो ।

कृत्रिम भल्भ प्रत्यारोपण गर्न भारतमा ६० देखि ८० लाख रुपैयाँ लाग्ने र नेपालमा २० देखि २५ लाखमा गर्न सकिने केन्द्रका निर्देशक डा अधिकारीले बताउनुभयो । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *