राष्ट्रव्यापी खुला पुरुष भलिबल प्रतियोगिता हुने

इन्भेष्टोपेपर । चैत्र ०१, २०७८

भजनी । सिर्जनशील युवा समाज नेपालको गुडीमुन्टे समूहको आयोजनामा कैलाली जिल्लाकै ठूलो धनराशिको राष्ट्रव्यापी खुला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । 

टीकापुर नगर खेलकुद विकास समितिको संयोजनमा हुन लागेको राष्ट्रव्यापी खुला पुरुष भलिबल प्रतियोगिता यहीँ चैत १४ गतेबाट टीकापुरमा आयोजना गर्न लागिएको हो । लामो समयसम्म टीकापुरमा खेलकुदका गतिविधि नहुँदा सो समूहले गत वर्षदेखि राष्ट्रव्यापी खुला पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको थियो । त्यसैको निरन्तरतास्वरुप प्रतियोगिता आयोजना गर्न लागिएको कार्यक्रम संयोजक नन्दसिंह विकले बताउनुभएको छ । “हामीले यो प्रतियोगिता फागुनमा नै गर्नुपर्ने हो । कोरोनाको सङ्क्रमणका कारण मिति तय गर्न सकिएन । त्यसपछि अर्को प्रतियोगिता पनि आयोजना भएको कारण समय सार्नुपरेको हो”, कार्यक्रम संयोजक विकले भन्नुभयो, “अब कार्यक्रमको तयारी सुरु गरेका छौँ । हामी टीकापुरलाई खेलकुद क्षेत्रबाट देशभर चिनाउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न थालेका हौँ ।”

उहाँले खेलकुदसँग पर्यटन क्षेत्र पनि जोडिएको कारण टीकापुर क्षेत्रको पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि पनि यो प्रतियोगिताले भूमिका खेल्ने बताउनुभयो । “लामो समयसम्म टीकापुरमा खेलकुदका गतिविधि हुन सकेनन् । मेयर उपमेयर कप भए पनि त्यसले समग्र खेलकुदलाई जोड्न सकेन”, कार्यक्रम संयोजक विकले भन्नुभयो, “हामी समुदायमा जहिले पनि फरक कामबाट चिनिन चाहान्छौँ । त्यसैले वर्षौंसम्म टीकापुरमा हुन नसकेको भलिबल प्रतियोगिताको आयोजना गरेका थियौँ र त्यसलाई निरन्तरता दिइरहेका छौँ ।”

गत वर्ष ५० हजार प्रथम पुरस्कारबाट सुरु भएको प्रतियोगिताको दोस्रो संस्करणदेखि प्रथम पुरस्कार बढाएर रु एक लाख ५१ हजार एक बनाइएको बताइएको छ । कार्यक्रम संयोजक विकका अनुसार कैलाली जिल्लामा संस्थागतरुपमा आयोजना भएको भलिबल प्रतियोगिता अहिलेसम्मको यो धेरै धनराशिको हो । त्यस्तै प्रतियोगिताको दोस्रो हुनेले रु ७० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्रको प्राप्त गर्ने छ । खेलमा तेस्रो स्थान हुनेले रु ३५ हजार नगद, ट्रफी र प्रमाणपत्र प्रप्त गर्ने छ भने सान्त्वना टिमले रु १० हजार नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छ । प्रतियोगितामा सहभागी हुने टिमले  चैत १३ गतेसम्म टिम दर्ता गरिसक्नुपर्ने बताइएको छ ।    सो खेलकुद प्रतियोगिता आयोजना गर्न रु सात लाख ६० हजारको अनुमानित खर्च आकलन गरिएको छ ।  (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *