हिमचितुवा घिमिरेद्वारा बक्सिङमा विश्व कीर्तिमान

इन्भेष्टाेपेपर ।  वैशाख २५, २०७९

काठमाडौँ ।  बक्सिङ प्रतियोगिताको अपराजित यात्रामा रहनुभएका बक्सर अविरल घिमिरे (हिमचितुवा) ले ‘हिट प्रोफेसनल किक बक्सिङ प्रतियोगिता’ मा विश्व कीर्तिमान कायम गर्नुभएको छ । लगातार १४औँ पटकसम्म हिट प्रतियोगितालाई आफ्नो पक्षमा ल्याई युवापुस्ताका चर्चित बक्सर हिमचितुवा घिमिरेले विश्व रेकर्ड बनाउन सफल हुनुभएको हो । 

जापानको नायोगा सहरस्थित ‘नायोगा कंग्रेस सेन्टर इभेन्ट हल’मा शनिबार साँझ सम्पन्न सो प्रतियोगितामा हिमचितुवाले थाइल्याण्डका बक्सर विला साकलेकलाई दोस्रो राउण्डमा नै रिङमा ढाल्नुभएको थियो ।  उहाँहरु दुवै ‘के वान के प्रोफेसनल किक बक्सिङ’ भिडन्त गरिसकेका अनुभवी खेलाडी हुनुहुन्छ । 

  सिमुरा डोजोको ५०औँ वार्षिकोत्सका अवसरमा आयोजित सो प्रतियोगितामा हिमचितुवाले तीन राउण्डको कूल १६ मिनेटको खेलमा साकलेकलाई १२ मिनेटमा ढालेको हिमचितुवाका प्रशिक्षक देव घिमिरेले जानकारी दिनुभयो । बक्सर देवसहित जापानी बक्सर सिमुरा तामियो र चाउ लोगेट हिमचितुवाको मुख्य प्रशिक्षका रहनुभएको थियो । 

प्रशिक्षक देवका अनुसार अविरलले सिमरा डोजोबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा खेल्दै आउनुभएको छ । यस अगाडि गत फागुनमा टोकियो सहरमा आयोजित ७० केजीको ‘के वान के प्रोफेसनल किक बक्सिङ प्रतियोगिता’मा जापानी बक्सर दाइ माचुसितालाई पहिलो राउण्डमा नै पराजित गरी बक्सर अविरलले बक्सिङ खेलमा नयाँ रेकर्डसमेत कायम गर्नुभएको थियो । 

सो तौल समूहको प्रतिस्पर्धामा लगातार तीन पटक विजयी हुने उहाँ दक्षिण एशियाकै पहिलो खेलाडीसमेत बन्नुभएको थियो । विश्वप्रख्यात सो प्रतिस्पर्धामा उहाँको विजयको अविच्छिन्न यात्रा जारी छ । गत वर्षको ‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसीप २०२१’को उपाधि बक्सर खेलाडी अविरलले चुम्नुभएको थियो । विश्वका युवापुस्ताका चर्चित र अनुभवी बक्सरलाई मात्र रिङमा उतारिने सो अन्तर्राष्ट्रिय प्रतियोगितामा विजयी हुने अविरल पहिलो नेपाली बक्सर बन्नुभएको थियो । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *