तनहुँ जलविद्युतकाे भूमिगत विद्युतगृहकाे सुरुङ खन्ने काम सम्पन्न

इन्भेष्टाेपेपर ।  असार ३२, २०७९

तनहुँ । १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना अन्तर्गत विद्युत्गृहको सुरुङ खन्ने काम सकिएको छ । आयोजनाको प्याकेज दुईअन्तर्गतको ठेक्का पाएको सिनो हाइड्रोपावर लिमिटेडले शुक्रवार विद्युत्गृहको सुरुङ खन्ने काम सम्पन्न गरेको हो ।     

८९ मिटर लम्बाइ, २२ मिटर चौडाइ र ५१ मिटर उचाइ भएको भूमिगत विद्यृत्गृहको सुरुङ खन्ने काम सकिएको तनहुँ हाइड्रोपावर लिमिटेडका इन्जिनीयरिङ तथा प्राविधिक महाशाखा प्रमुख श्यामजी भण्डारीले जानकारी दिए । ‘मुख्य चुनौतीपूर्ण रहेको भूमिगत विद्युत्गृहको सुरुङ खन्ने काम सफलतापूर्वक सम्पन्न भएको छ,’ भण्डारीले भने, ‘अब विद्युत्गृहभित्र पूर्वाधार निर्माण शुरू हुन्छ ।’ विद्युत्गृहको सुरुङ खन्ने काम सन् २०२० अगष्टदेखि शुरू भएको थियो । ‘यहाँको ढुंगा कमजोर रहेकाले यो चुनौतीपूर्ण काम थियो, अब भूमिगत सुरुङभित्र पूर्वाधारको काम पनि छिट्टै शुरू गर्ने तयारी छ ।’

आयोजना अन्तर्गत पानी ल्याउने सुरुङमा भने काम भइरहेको छ । १ हजार ४५० मिटर सुरुङ खन्नुपर्नेमा अहिलेसम्म ३५० मिटर खनिसकिएको छ । इन्टेकको काम भने गर्न बाँकी रहेको भण्डारीले जानकारी दिए । प्याकेज एकअन्तर्गत डाइभर्सन टनेलको काम भइरहेको छ । पहुँच सुरुङ १०० मिटर खनिसकिएको छ । आयोजनाको प्याकेज दुईअन्तर्गत सर्जट्यांक जाने पहुँच सुरुङ खन्ने काम पनि सम्पन्न भइसकेको छ । सिनो हाइड्रो कम्पनीले ४३७ दशमलव १ मिटर लामो सुरुङ खन्ने काम सम्पन्न गरेको थियो । त्यस्तै २८० दशमलव ८५ मिटर लामो मुख्य पहुँच सुरुङ र बाँधस्थल जाने ३१४ मिटर लामो पहुँच सुरुङ पनि सम्पन्न भइसकेको छ ।

प्याकेज तीनअन्तर्गत प्रसारण लाइनमा हालसम्म ४८ ‘फाउण्डेशन’को कार्यसम्पन्न भएको छ । प्रसारण लाइन निर्माणका लागि २५ टावर जडान भइसकेको आयोजनाले बताएको छ । चितवनतर्फको जग्गा अधिग्रहण गर्ने प्रक्रिया चलिरहेको छ । जग्गा अधिग्रहणका लागि समिति गठन गरी प्रतिवेदन तयार गर्ने काम भइरहेको बताइएको छ ।

दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण हुनेछ । प्रसारण लाइन निर्माणका लागि कुल ९४ टावर निर्माण गरिनेछ । प्रसारण लाइन निर्माणको जिम्मा भारतीय कम्पनी केईसीले पाएको छ ।

प्रसारण लाइन निर्माणका लागि कुल ५९ कित्ता (२३ रोपनी ५ आना) जग्गा अधिग्रहण गरिनेछ । त्यसका लागि जग्गाको मुआब्जा पनि वितरण भइरहेको छ । प्रसारण लाइन निर्माणका क्रममा व्यास नगरपालिका–१३ र १४, बन्दीपुर गाउँपालिका–६, आँबुखैरेनी गाउँपालिका–६, देवघाट गाउँपालिका ४ र ५ भित्र पर्ने जग्गा अधिग्रहण गरिनेछ ।

तनहुँ जलविद्युत् आयोजनाको मुख्य कार्यलाई तीन चरणमा विभाजन गरी निर्माण अगाडि बढाइएको छ । आयोजनाको पहिलो प्याकेज अन्तर्गत १४० मिटर अग्लो ड्याम निर्माणका लागि सोङ दा कर्पोरेसन, भियतनाम–कालिका कन्स्ट्रक्सन प्रालि नेपाल जेभीसँगको ठेक्का सम्झौता विसं २०७८ भदौ १४ देखि कार्यान्वयनमा आएको छ । सोङ दा–कालिका जेभीले अहिले मुख्य बाँध निर्माणका लागि नदी फर्काउने कार्य गरिरहेको छ ।

आयोजनाको दोस्रो चरणअन्तर्गत सुरुङ, विद्युत्गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायत कामको जिम्मेवारी सिनो हाइड्रोपावर लिमिटेडले पाएको छ ।

आयोजनाको तेस्रो चरणअन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणको ठेक्का भारतीय कम्पनी केईसीले पाएको छ । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *