बाख्रा अनुसन्धान केन्द्र : बोयर जातको बोकाको माग उच्च

इन्भेष्टाेपेपर ।  भाद्र २३, २०७९

दमौली । तनहुँको बन्दीपुर गाउँपालिकास्थित राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्रले लक्ष्यभन्दा बढी पाठापाठी उत्पादन गरेको छ । आर्थिक वर्ष २०७८/७९ मा अनुसन्धान केन्द्रले विभिन्न बाख्राका जातका तीन सय पाठापाठी उत्पादन गर्ने लक्ष्य राखेकोे थियो ।  

उक्त अवधिमा लक्ष्यभन्दा ६०  बढी पाठापाठी उत्पादन भएको केन्द्रका प्रमुख राजु कंडेलले जानकारी दिनुभयो । उहाँका अनुसार केन्द्रबाट खरी, सिन्हाल, बारबरी, जमुनापारी क्रस, शुद्ध बोर, बोर क्रस, शुद्ध सानन र सानन क्रस बाख्राका पाठापाठी उत्पादन गरिएको छ । 

सो अवधिमा खरीका २५ पाठापाठी उत्पादन गर्ने लक्ष्य राखिएकामा ३४, सिन्हालका तीन, बारबारीका दश पाठापाठी उत्पादन गर्ने लक्ष्य राखिएकामा नौ, शुद्ध बोरका ८० पाठापाठी उत्पादन गर्ने लक्ष्य राखिएकामा एक सय, बोर क्रसका एक सय ५० पाठापाठी उत्पादन गर्ने लक्ष्य राखिएकामा एक सय ५५, शुद्ध साननका १२ पाठापाठी उत्पादन गर्ने लक्ष्य राखिएकामा २५ र सानन क्रसका १३ पाठापाठी उत्पादन गर्ने लक्ष्य राखिएकामा ३४ पाठापाठी उत्पादन भएको छ ।

अनुसन्धान केन्द्रमा बोयर जातको बोकाको माग उच्च रहेको छ । बोयर जातको बोकाको नेपालमा बढी रुचाइएको कारण यसमा माग बढेको बताइन्छ । “स्थानीय जातको भन्दा बोयर जातको बोकाको माग बढी छ, जमुनापानी, खरी जातको बाख्राको माग पनि उत्तिकै छ,” उहाँले भन्नुभयो । 

केन्द्रले सोही अवधिमा स्थानीय बाख्रामा बोर तथा सानन बोकाबाट सात सानन र २५ बोरको प्रयोग गरी कृत्रिम गर्भाधान गरेको जनाएको छ । साथै विभिन्न ३२ जिल्लामा बोर पाठापाठी वितरण गरिएको छ । तीमध्ये ८४ बोर पाठा र १७ बोर पाठी गरी एक सय एक बोर पाठापाठी वितरण भएका छन् । यसैगरी विभिन्न नौ जिल्लामा सानन जातका नौ, बारबारी दुई र खरी तीन बाख्रा वितरण गरिएको जनाइएको छ ।

बाख्राको अनुसन्धानको लागि केन्द्रले विभिन्न ठाउँमा स्रोतकेन्द्र स्थापना गरेको छ । केन्द्रका अनुसार जिल्लाको भानु नगरपालिकास्थित बरभज्याङ, आँबुखैरेनी गाउँपालिकास्थित बरादीमा, घिरिङमा, गोरखाको बक्राङ, स्याङ्जाको पेखुथाना र धादिङको नीलकण्ठमा बाह्य अनुसन्धान केन्द्र स्थापना भएका छन् । 

ती मध्ये बरभञ्ज्याङमा एक सय २०, बक्राङमा ३१, बरादीमा दुई सय चार, पेखुथानामा दुई सय ४९, घिरिङमा तीन सय ३० र निलकण्ठमा ३५ गरी नौ सय ६९ बोर क्रस पाठापाठी उत्पादन भएका छन् । त्यसमध्ये पेखुथानाबाट एक सय ९७ र बरादीबाट एक सय ४९ वितरण भएका छन् ।

बन्दीपुरमा उत्पादन भएका शुद्ध जातका बाख्राको उत्पादकत्वतर्फ शुद्ध बोर जन्मिदा ३.९८ किलो, शुद्ध सानन ४.४६, शुद्ध बारबारी २.६८ र शुद्ध खरी २.१० किलो रहने गरेको छ । १२ महिनामा शुद्ध बोर ५१.५२, शुद्ध सानन ४७.२६, शुद्ध बारबारी २६.६८ र शुद्ध खरी २६.२४ पुग्ने गरेको छ ।
    
केन्द्रमा बाख्राहरुलाई चरिचरणको घाँसहरुमा बाह्य जनावरबाट क्षति हुने गर्दा समस्या हुने गरेको छ । त्यस्तै हिउँद तथा सुख्खा मौसममा बाख्रालाई घाँसको कमी हुँदै आएको छ । यसका लागि सरपानी तथा आले गाउँमा जमिन सम्याई घाँस लगाइएको छ । केन्द्रमा कूल २४ जनाको दरबन्दी रहेकामा दरबन्दी अनुसार सात जना कार्यरत छन् । त्यस्त तीन जनामा काजमा आएका छन् । प्राविधिक कर्मचारीको कमी, प्राविधिक कर्मचारीहरुलाई प्रोत्साहन तथा तालिमको कमीका कारण सोचे अनुसारको काम हुन नसकेको कार्यालयले जनाएको छ । 

कूल ८० हेक्टर क्षेत्रफलमा फैलिएको केन्द्रमा बाख्राको लागि आवश्यक पर्ने डालेघाँस, भुइँघाँसको खेती गरिएको छ । बाख्रालाई विशेष गरेर नेपियर, मोलाटो, सेटारिया, सिग्नल घाँस, किम्भु खनायो लगायतका घाँस खुवाउने गरिएको छ । देशका विभिन्न जिल्लाबाट केन्द्र भ्रमणका लागि आउने गरेका छन् । कृषि, पशुपालन, वनविज्ञानका विद्यार्थी अध्ययन तथा अवलोकन भ्रमण लागि आउने गरेको जनाइएको छ । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *