सन्दर्भ राष्ट्रिय बाल दिवस : राष्ट्रपति भण्डारीको शुभकामना
इन्भेष्टाेपेपर । भाद्र २९, २०७९
काठमाडौं । राष्ट्रिय बाल दिवस, २०७९ को अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले स्वदेश तथा विदेशमा रहेका समस्त नेपाली बालबालिका तथा अभिभावकहरूमा बधाई तथा शुभकामना व्यक्त गर्नुभएको हो ।
संयुक्त राष्ट्र सङ्घीय बालअधिकारसम्बन्धी महासन्धिलाई नेपालले अनुमोदन गरेको दिनको स्मरण गर्दै बाल अधिकारको क्षेत्रमा नेपालले जनाएका अन्तर्राष्ट्रिय प्रतिबद्धता समेतलाई पूरा गर्न हामीले हरेक वर्ष भदौ २९ गते ‘राष्ट्रिय बाल दिवस’ मनाउँदै आएका छौँ,’’ राष्ट्रपतिले भन्नुभएको छ ।
यस वर्ष पनि “बालमैत्री समाजको आधार, जिम्मेवार परिवार, उत्तरदायी सरकार” भन्ने मूल विषयका साथ राष्ट्रिय बाल दिवस विभिन्न रचनात्मक कार्यक्रमहरूको आयोजना गरी मनाइँदै छ । नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकको रूपमा सुनिश्चित गरी आवश्यक नीति‚ कानुन र संस्थागत संरचनाहरू निर्माण गरेको छ ।
राष्ट्रपति भण्डारीले बालअधिकारको सम्बन्धमा विद्यमान संवैधानिक र कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्दै सबैका लागि बालअधिकार सुनिश्चित गर्न आवश्यक पहल गर्न सम्बद्ध पक्षको ध्यान आकृष्ट पनि गराउनुभएको छ ।
नेपालले हरेक वर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसको रुपमा मनाउने गरेको छ । सन् १९९०, सेप्टेम्बर १४ तारिखमा नेपालले बालअधिकार सम्बन्धी महासन्धिलाई अनुमोदन गरेको दिनलाई बालबालिकाको विशेष दिनको रुपमा लिइ राष्ट्रिय बाल दिवसको रुपमा मनाउने गरिएको छ।
२०२२ सालदेखि भदौ ४ गते मनाउन सुरु गरिएको बाल दिवस २०६३ सालपछि भने भदौ २९ गते मनाउन थालिएको हो । नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकको रूपमा आत्मसाथ गर्दै हरेक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालन–पोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जन तथा सर्वाङ्गीण व्यक्तित्व विकासको हक हुने लगायतका कुराको प्रत्याभूति गरेको छ ।
