गत वर्ष भन्दा दाेब्बर यात्रुले दशैं मनाउन उपत्यका छाडे

इन्भेष्टाेपेपर ।  असाैज १७, २०७९

काठमाडौं । काठमाडौं उपत्यकाबाट यस वर्ष गत वर्षभन्दा झन्डै दोब्बर यात्रु बाहिरिएका छन् । यो महीनाको शुरुदेखि फूलपातीसम्म झन्डै १७ लाख उपत्यकावासी दशैं मनाउन आ–आफ्नो घर गएका हुन् ।     
     
विगत दुई वर्ष कोभिडका कारण दशैं मनाउन काठमाडौं उपत्यका बाहिर जानेको सङ्ख्या कम हुने गरेकामा यो वर्ष ह्वात्तै बढेको हो । उपत्यकाबाट बाहिरका जिल्लाहरुमा जाने सबैभन्दा बढी नागरिकले सार्वजनिक यातायातको नै प्रयोग गरिरहेको राष्ट्रिय यातायात व्यवसायी महासङ्घ नेपालका अध्यक्ष विजय स्वाँरले बताउनु भयाे।

अहिलेसम्म १७ लाखको हाराहारीमा नागरिकले उपत्यका छाडेका छन् भने विजया दशमीको दिनसम्ममा अझै २ लाखले उपत्यका छाड्ने अनुमान गरिएको छ । विगतका वर्ष जस्तै यो वर्ष पनि सवारी साधनमा तोकिएको भन्दा बढी भाडा लिने, एउटै सिटमा दुई जनाको टिकट काट्ने, यात्रुलाई टिकट काट्दाको भन्दा फरक सिटमा राख्नेलगायतका समस्या यात्रुले भोगिरहेका छन् ।

कतिपय यात्रुले पहिले नै टिकट नकाटेर बीच बाटोबाटै गाडी चढ्दा बढी भाडा लिएको हुनसक्ने अध्यक्ष स्वाँरले बताउनुभयाे। सवारी साधनहरुले सामान्य अवस्थामा प्रतिस्पर्धा हुँदा तोकिएको भन्दा कम भाडामा समेत यात्रु बोक्ने भए पनि अहिले तोकिएको लिइरहेको उहाँको भनाइ छ ।     
     
काठमाडौंबाट मात्रै होइन उपत्यका बाहिरका क्षेत्रीय सहरहरुबाट र जिल्ला सदरमुकामहरुबाट पनि धेरै यात्रु आ–आफ्नो घर जाने गरेका छन् । कतिपय यात्रु काठमाडौं बाहिरबाट उपत्यका भित्रने भए पनि त्यो सङ्ख्या कम रहेको महासङ्घले बताएको छ ।

आमनागरिकले उपत्यकाबाट सबै बस भरिएर गएको देखे पनि फर्किएर आउँदा खालीजस्तै हुने उहाँले बताउनु भयाे । सबै क्षेत्रले यात्रुबाहक सवारीसाधनलाई पहिलो प्राथमिकतामा दिएर त्यसपछि मात्रै निजी र मालबाहक सवारी साधनलाई दिनुपर्ने महासङ्घले सरकारसमक्ष माग गर्दै आएको थियो ।

शनिवारदेखि नै अति आवश्यक पर्ने सामान ल्याउने बाहेक १८ र २० चक्के सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । विभागले यही असोज १५ गतेदेखि २२ गतेसम्म नारायणगढबाट काठमाडौंसम्म सञ्चालन गर्न रोक लगाउने निर्णय गरेको छ ।  दशैं, तिहार, छठसँगै निर्वाचनमा जाने यात्रुहरु यो अवधिमा बाहिरिने महासङ्घले बतएको छ ।

यो वर्ष दशैं चाँडो परेकाले देशभरका धेरै सडकमा खाल्डाखुल्डी र पहिरो हटिसकेको छैन । दशैंलाई लक्षित गरी भदौदेखि नै मर्मत शुरु गरिएको भए पनि वर्षा अझै पूर्णरूपमा हटिनसकेकाले सबैतिरको सडक मर्मत गर्न कठिन भएको सडक विभागले बताएको छ । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *