कलाकारहरुलाई अभियन्ता बनिदिन प्रमुख निर्वाचन आयुक्तको आग्रह

इन्भेष्टाेपेपर ।  कार्तिक २२, २०७९

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहितररूपमा सम्पन्न गराउने वातावरण सिर्जनाका लागि अभियन्ताको भूमिका निर्वाह गरिदिन कलाकारहरूसँग आह्वान गर्नुभएको छ ।

निर्वाचनका सन्दर्भमा कलाकारहरूसँगको अन्तरक्रियाका लागि आयोगले आयोजना गरेको छलफल कार्यक्रममा प्रमुख आयुक्त थपलियाले निर्वाचनको माहौल निर्माण तथा निर्वाचनपछि प्रतिस्पर्धीबीच आपसी द्वन्द्व र मनमुटावको साटो मित्रता र एकताको भावना कायम गराउन जीवनमा कहिल्यै पराजयको अनुभूति नगर्ने प्रतिभाका धनी कलाकारहररूले खेल्ने भूमिका प्रभावकारी हुने बताउनुभयो ।

उहाँले कलाकारहरूले आफ्ना सामाजिक सञ्जालबाट निर्वाचन र मतदाता शिक्षाका सन्देशहरू प्रवाह गरेर तथा मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिबाट टाढा रहेर मुलुक र लोकतन्त्र जोगाउने संकल्प बोकेको आसन्न निर्वाचन सफल बनाउन व्यावसायिक र रचनात्मक रुपमा योगदान दिने अपेक्षा पनि व्यक्त गर्नुभयो ।

“निर्वाचनलाई दूषित पार्ने प्रचारको डर आयोगलाई छ । यसप्रति आयोग सजग छ ।” ‘नो नट एगेन’का सम्बन्धमा कलाकारले राखेको जिज्ञासामा प्रमुख आयुक्त थपलियाले भन्नुभयो, “लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रतासँग मिथ्या सूचना, दुष्प्रचार र द्वेशपूर्ण अभिव्यक्तिलाई मिसाएर हेर्न हुँदैन भन्नेमा आयोग स्पष्ट छ । त्यसैले लोकतन्त्रको सुन्दर तलाउमा दुष्प्रचारको ढुंगा नहानिदिनोस् । सभ्य भाषामा कसलाई मत दिने र नदिने भनेर खुल्लारूपमा भन्न सक्नुहुन्छ, अँध्यारो कुनामा बसेर लाञ्छित र गालीगलौज गरिरहनु पर्दैन भन्ने मात्रै आयोगको आग्रह हो ।”

मतदातालाई प्रलोभन पारिने खतराका सन्दर्भमा उठेको सवालमा प्रमुख आयक्त थपलियाले जनताको सार्वभौमसत्ता खरिद बिक्रीको विषय हुनै नसक्ने भन्दै निर्वाचनलाई व्यापार ठान्नेहररूले देशको समृद्धि गर्दैनन् भन्ने सन्देश पनि कलाकारहररूले नागरिकका बीच लगिदिनुपर्छ भन्नुभयो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *