नेपाल लाइफको २२ औं वार्षिक साधारण सभा सम्पन्न

इन्भेष्टाेपेपर ।  मंसिर ९, २०७९

पर्सा । नेपालको सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्सको २२औँ वार्षिक साधारण सभा कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघईज्यूको अध्यक्षतामा मंसीर ८ गते होटल भिष्वा, बीरगंज, पर्सामा सम्पन्न भएको छ ।

यस अवसरमा संचालक समितिका तर्फबाट अध्यक्षबाट प्रस्तुत भएको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरि पारित गरिएको छ । लेखापरीक्षकको प्रतिवेदन सहित आ.व.२०७७/७८ को वासलात, नाफा–नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरिएको छ ।

त्यसै गरी, साधारण सभाले आर्थिक वर्ष २०७७/७८ को वितरण योग्य मुनाफाबाट संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको १५.७८९५% दरले हुन आउने रु. १ अर्ब २९ करोड बराबरको नगद लाभांश (लाभांश कर समेत) दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ । आ.वं २०७८/७९ को लागि एसएआर एशोसिएट्सलाई लेखापरीक्षकको रुपमा पुनर्नियुक्ति गर्दै संचालक समितिले गरेको स्वतन्त्र संचालक श्रीमती पारुल ढकालको नियुक्तिलाई अनुमोदन गरेको छ । 

अध्यक्ष आ.व. २०७७/७८ को वार्षिक वित्तीय विवरण तथा संचालक समितिको प्रतिवेदन प्रस्तुत गर्दै विगत २२ वर्षमा जीवन बीमा क्षेत्रमा कम्पनीको व्यवसायिक हिस्सा र गरिमालाई तमाम चुनौतिहरु बीच अझै नयाँ उचाइमा अगाडि बढाउनका लागि संरचनात्मक सुधार, संस्थागत सुशासनको पूर्ण पालना, सुदृढ आन्तरिक नियन्त्रण प्रणाली, सेवा प्रणालीमा नविन प्रविधिको प्रयोग, सम्पत्ति र दायित्व बीचको सन्तुलन, ग्राहक केन्द्रित योजना, विकेन्द्रिकरण, तालिम एवं अनुसन्धान तथा नयाँ बजारीकरण रणनीति अवलम्बन गरि रहेको र कम्पनीको समग्र विकासका लागि प्रतिवद्धता व्यक्त गर्नु भयो ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले शेयरधनीहरुको सल्लाह सुझावका लागि धन्यवाद दिनु भयो । उहाँले आफु कम्पनीको व्यवसाय बृद्धिमा दत्तचित्तका साथ काम गरिरहेको र कम्पनीले नेपाल बीमा प्राधिकरणबाट जारी लगानी निर्देशिकाको परिधिभित्र रही दीगो एवं भरपर्दो लगानीका क्षेत्रहरुमा लगानी विस्तार तथा विविधीकरण गर्दै जाने नीति लिएको जानकारी गराउनु भयो ।

सभामा, शेयरधनीबाट गत २१औं वार्षिक साधारण सभाबाट कम्पनीको संस्थापक र सर्वसाधारण शेयरको अनुपात ५१ः४९ कायम भैसकेकोले संचालक समिति गठनमा पनि सोही बमोजिमको अनुपात कायम गर्नका लागि अनुरोध भएकोमा छलफल हुँदा कम्पनी ऐन, २०६३ को दफा ६७ को उपदफा ३ (क) बमोजिम पहिले नै सूचित नगरिएको विषयमा साधारण सभामा तत्काल विशेष प्रस्ताव राख्नका लागि चाहिने आवश्यक गणपुरक संख्या नपुगेकोले यस वार्षिक साधारण सभामा उक्त विषयलाई विशेष प्रस्तावका रुपमा स्वीकार गर्न नसकिएको परिस्थितिलाई आत्मसाथ गरि आगामी वार्षिक साधारण सभामा सो विषयलाई अगाडि बढाइने कुरा जानकारी गराइयो ।

नेपाल लाइफले २०७९ असोज मसान्तसम्ममा लगानी रु. १४९.७६ अर्ब गरिसकेको र जीवन बीमाकोषमा रु. १ खर्ब ४२ अर्ब ९ करोड संचित भइसकेको जानकारी गराएको छ । साथै, कम्पनीमा २,१२,३६२ भन्दा बढी प्रशिक्षित अभिकर्ता रहेको र कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर स्थापित १९७ कार्यालय सञ्जालहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *