स्याङ्जामा सुन्तला उत्पादन वृद्धिले किसान उत्साहित

इन्भेष्टाेपेपर ।  मंसिर १४, २०७९

वालिङ । स्याङ्जामा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ । यस वर्ष २२ हजार पाँच सय मेट्रिक टन सुन्तला उत्पादन भएको छ । सुन्तला उत्पादन वृद्धि भएपछि यहाँका किसान उत्साहित भएका छन् । पछिल्लो समय सुन्तला जिल्लाका किसानको जीविकोपार्जनको गतिलो माध्यम बन्दै गएको छ । 

कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख विनोद हमालका अनुसार यस वर्ष रु एक अर्बभन्दा बढीको सुन्तला उत्पादन भएको छ । गत वर्ष सुन्तला बिक्रीबाट रु ५७ करोड भित्रिएको उहाँले बताउनुभयो । “यस वर्ष प्रतिहेक्टर १५ मेट्रिक टनका दरले सुन्तला उत्पादन भएको छ”, उहाँले भन्नुभयो । गत वर्ष प्रतिहेक्टर १० मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । 

“यस वर्ष प्रतिहेक्टर पाँच मेट्रिक टनका दरले सुन्तला उत्पादनमा वृद्धि भएको छ”, हमालले भन्नुभयो । स्याङ्जामा दुई हजार हेक्टर क्षेत्रफलमा सुन्तला बगैँचा छ । नेपालमै सबैभन्दा धेरै क्षेत्रफलमा सुन्तला बगँैचा र धेरै उत्पादन स्याङ्जामा हुने गरेको हमालको दाबी छ । यस वर्ष सुन्तला छिटो पाकेकाले कात्तिकको दोस्रो साताबाट बिक्री सुरु भएको छ । कात्तिकको दोस्रो सातामा प्रतिकिलो रु ५० तथा अहिले रु ६५ का दरले सुन्तला बिक्री भइरहेको छ ।

अर्जुनचौपारी गाउँपालिका–१ थापाथोकका व्यापारी फणिनारायण अर्याल सुन्तला बिक्रीबाट रु ५० लाखसम्म आम्दानीको दाबी गर्नुहुन्छ । गत वर्ष उहाँले रु २५ लाख आम्दानी गर्नुभएको थियो । “अहिले धेरै सुन्तला फलेको छ, लाछ्छिने गरेकाले टेका दिएर हाँगालाई अड्याउनुपरेको छ”, उहाँले भन्नुभयो । उहाँको बगैँचामा अहिले दुई हजार सुन्तलाका बोट छन् । अर्यालले सुन्तलाको गे्रडिङ गर्ने मेसिन जडान गरी बजारीकरण गर्दै आउनुभएको छ ।

गत वर्ष सुन्तला बिक्रीबाट रु दुई लाख आम्दानी गर्नुभएका वालिङ–२ फुटेढुङ्गाका लेखनाथ काफ्लेले रु चार लाख आम्दानी हुने बताउनुभयो । गत वर्षको तुलनामा यस वर्ष सुन्तला तेब्बर फलेको दाबी गर्दै उहाँले भन्नुभयो, “गत वर्ष रु दुई लाखमा ठेक्का दिएको थिएँ, यस वर्ष रु चार लाखमा ठेक्का दिइसकेको छु ।”

ठेकेदारले सुन्तला बगैँचामै आएर ठेक्का लिने गरेकाले पनि बजारीकरणको समस्या नभएको उहाँले बताउनुभयो । काफ्लेको सुन्तला बगैंँचामा अहिले एक सय बोटमा फल लागेको छ । गत वर्ष रु २२ लाखको सुन्तला बिक्री गर्नुभएका स्याङ्जाको गल्याङ नगरपालिका–७ सिरौंसाका सुन्तला व्यवसायी भूपराज भण्डारीले यस वर्ष पनि सुन्तला बिक्रीबाट मनग्य आम्दानी हुने बताउनुभयो ।

गत वर्ष ३१ टन सुन्तला बिक्री गरेर रु २२ लाख आम्दानी गर्नुभएका भण्डारीको यस वर्ष पनि सोही अनुपातमा आम्दानी हुने विश्वास छ । उहाँको बगैँचामा अहिले आठ सय सुन्तलाका बोट छन् । 

जिल्लाभर बाइस हजार पाँच सय मेट्रिक टन सुन्तला बिक्रीबाट रु एक अर्ब २५ करोड आम्दानी गर्न सकिने कृषि ज्ञान केन्द्रका प्रमुख हमाल बताउनुहुन्छ । रु २५ करोड मूल्य बराबरको सुन्तला घरमै खाने, कोसेली पठाउने तथा कुहिने उहाँको भनाइ छ । गत वर्ष सुन्तला उत्पादनमा कमी आए पनि बजार मूल्य राम्रो पाइएको हमालले बताउनुभयो । गत वर्ष १३ हजार आठ सय ४० मेट्रिक टन सुन्तला उत्पादन भएको थियो ।

आर्थिक वर्ष २०७७÷७८ मा स्याङ्जामा कुल एक हजार छ सय ५५ हेक्टर क्षेत्रफलमध्ये कुल एक हजार एक सय ६० हेक्टरमा सुन्ताला खेती गरिएको थियो । सो खेतीबाट १७ हजार छ सय ३२ टन सुन्तला उत्पादन भएको थियो । गत वर्षको तुलनामा अघिल्लो आवमा सुन्तला उत्पादन धेरै भए पनि किसानले उचित मूल्य पाउन सकेका थिएनन् । 

आव २०७७÷७८ जिल्लामा रु ७९ करोड ३४ लाख ४० हजार मूल्य बराबरको सुन्तला उत्पादन भए पनि जम्मा रु ५५ करोडको बिक्री भएको थियो । स्वादका दृष्टिले देशैभर छुट्टै पहिचान बनाएको स्याङ्जाको सुन्तला काठमाडौँ, पोखरा, बुटवल, नारायणगढलगायत बजारमा खपत हुने गरेको छ ।

सुन्तला बिक्री गरेर मनग्य आम्दानी गर्ने व्यावसायिक कृषक पनि स्याङ्जामा प्रशस्तै छन् । सुन्तलालाई आम्दानीको मुख्य स्रोत बनाउने व्यावसायिक अगुवा कृषकले यसबाट बर्सेनि पर्याप्त आम्दानी गर्दै आएका छन् । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *