अबदेखि गाउँपालिकामा पनि उपसचिव

इन्भेष्टाेपेपर ।  मंसिर १७, २०७९

काठमाडौँ ।  अबदेखि गाउँपालिकामा पनि उपसचिवस्तरको प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालय प्रमुख बनाइने भएको छ। अहिले सबै गाउँपालिकामा शाखा अधिकृतस्तरको कर्मचारीले कार्यालय प्रमुखको जिम्मेवारी बहन गर्दै आएका छन्। 

महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकालाई नेपालको संविधानले एउटै कार्यजिम्मेवारी तोकिएकाले संविधानको मर्मअनुसार गाउँपालिकामा पनि उपसचिवस्तरको कर्मचारी राख्ने तयारी भएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।

अहिले महानगरपालिका तथा उपहानगरपालिकामा सहसचिव र नगरपालिकामा उपसचिव तथा गाउँपालिकामा शाखा अधिकृतले कार्यालय प्रमुखको रूपमा जिम्मेवारी बहन गरिरहेका छन्। सरकारले तीन वर्ष अगाडि नै गाउँपालिकामा उपसचिवस्तरको कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाउने तयारी गरे पनि कर्मचारी र राजनीतिक नेतृत्वबीच सहमति हुन नसक्दा कार्यान्वयन हुन सकेको थिएन। 

राष्ट्रिय सभाले गठन गरेको सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले सरकारलाई सिफारिस गरिएको प्रतिवेदनमा पनि गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत उपसचिवस्तरको रहनुपर्ने उल्लेख गरिएको छ। 

मन्त्रालयका सहसचिव एवं प्रशासन महाशाखा प्रमुख रघुराम विष्टले समितिको प्रतिवेदन कार्यान्वयनका लागि सरकारले मन्त्रालयलाई परिपत्र गरेसँगै अब प्रतिवेदनमा उल्लेखित विषय क्रमिक रूपमा कार्यान्वयन हुँदै जाने बताउनुभयो। 

गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालका कार्यकारी निर्देशक राजेन्द्रप्रसाद प्याकुरेलले गाउँपालिकाका नागरिकलाई गाउँपालिका पनि स्थानीय सरकार हो भन्ने अनुभूति दिलाउने गरी काम गर्न सबै गाउँपालिकामा उपसचिवस्तरको प्रमुख प्रशासकीय अधिकृत आवश्यक भएको बताउनुभयो। याे समाचार गाेरखापत्र दैनिकमा प्रकाशित भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *