कर्मचारी सञ्चय कोषका नवनियुक्त प्रशासकद्वारा पदभार ग्रहण

न्भेष्टाेपेपर ।  मंसिर २४ २०७९

काठमाडौँ : सञ्चय कोषका नवनियुक्त प्रशासक जितेन्द्र धितालले पदभार ग्रहण गरेका छन्।

शुक्रबार अर्थ मन्त्रालयमा आयोजित समारोहमा पद तथा गोपनियताको शपथ ग्रहण गरेलगत्तै धितालले पुलचोकस्थित कार्यालयमा पुगेर पदभार ग्रहण गरेका हुन्। धिताललाई मंसिर २० गते बसेको मन्त्रिपरिषद्को बैठकले कर्मचारी सञ्चय कोषको प्रशासकमा नियुक्त गरेको थियो।

कोष सञ्चालक समितिका अध्यक्ष एवं अर्थ मन्त्रालयका सचिव कृष्णहरि पुष्करले धिताललाई शपथ ग्रहण गराएका थिए। कार्यक्रममा बोल्दै अर्थ सचिव पुष्करले नवनियुक्त प्रशासकलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिए।

उनले भने, ‘यहाँको नेतृत्वमा सञ्चय कोषको स्रोत सुरक्षित र प्रतिफलमुखी क्षेत्रमा लगानी हुने कुरामा विश्वस्त छु।’ सचिव पुष्करले सेवा प्रवाहलाई प्रभावकारी बनाउन निर्देशनसमेत दिएका छन्।

पदभार ग्रहण गर्दै नवनियुक्त प्रशासक धितालले आफ्नो नेतृत्व र मातहतका सबै कर्मचारी तथा निकायको समन्वयमा सञ्चय कोषलाई नयाँ उचाइँमा पु¥याउने प्रतिबद्धता जनाएका छन्।

प्रशासक धितालले कोषलाई अन्तर्राष्ट्रिय स्तरको सामाजिक सुरक्षा संस्थाको रूपमा स्थापित गर्ने प्रतिबद्धता पनि जनाए। त्यसो त धिताल निमित्त प्रशासक हुँदा नै कोषले विभिन्न अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरिसकेको छ।

कोषले यो वर्ष फिलिपिन्समा रहेको एसिया प्यासिफिक क्षेत्रका डेभलपमेन्ट फाइनासिङ संस्थाहरूको संगठन एडीफ्यापबाट ‘टेक्नोलोजी डेभलपमेन्ट’अन्तर्गतको अवार्ड पाएको छ। साथै लामो समयदेखि अन्तर्राष्ट्रिय सामाजिक सुरक्षा संस्थाको एसोसिएट सदस्य रहेको कोष यही वर्षदेखि स्थायी सदस्य बनेको छ।

चार्टर्ड अकाउन्टेन्ट (सीए) धिताल गोरखाका स्थायी बासिन्दा हुन्। अर्थशास्त्र तथा सूचना प्रविधिमा स्नातकोत्तर गरेका धिताल सीएको अध्ययन लगतै सञ्चयकोषमा प्रवेश गरेका थिए।

यो वर्ष कर्मचारी सञ्चय कोष ६१ वर्षमा लागेको छ। कोषले सरकारी र निजी क्षेत्रका कर्मचारीको सेवाअवधि र अवकासपछिको वित्तीय सुरक्षाको काम गर्दै आएको छ। कोषले सञ्चयकर्ताका ससाना आवश्यकता विशेषतः आवास, शिक्षा, स्वास्थ्यको क्षेत्रमा तथा देशको आर्थिक विकासका लागि ठूला पूर्वाधार आयोजनामा लगानीसमेत गर्दै आएको छ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *