उत्पादन र बजार प्रवर्द्धन गर्न चियाको राष्ट्रिय रणनीति

न्भेष्टाेपेपर ।  माघ १९, २०७९

काठमाडौँ । निर्यातयोग्य वस्तुका रूपमा रहेको स्वदेशी चियाको उत्पादन र बजारीकरण गर्न राष्ट्रिय चिया रणनीति तयार गर्न लागिएको छ । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र राष्ट्रिय चिया तथा कफी विकास बोर्डले संयुक्त रूपमा चियाको राष्ट्रिय रणनीति बनाउन लागेका हुन् । चियाको उत्पादन वृद्धि गरी अन्तर्राष्ट्रिय बजारमा निर्यात प्रवद्र्धन गर्ने गरी रणनीति बनाउन लागिएको हो । 

तुलनात्मक लाभ भएका वस्तुका रूपमा रहेको चियाको उत्पादन दीर्घकालीन रूपमा वृद्धि गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन गर्न रणनीति बनाउन लागिएको हो । 

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईले चियाको उत्पादनसँग बजारीकरण गर्न रणनीति तयार गर्न लागिएको जानकारी दिनुभयो । विश्व बजारमा स्वदेशी चियाको माग उच्च भए पनि निर्यात गर्न सकिएको छैन, गुणस्तरयुक्त चिया उत्पादन गरेर विदेशी मुद्रा आर्जन गर्न रणनीति तयार गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।

“चियाको उत्पादन, प्रवद्र्धन बजारीकरण गर्ने छुट्टै रणनीति नभएकाले पहिलो पटक तयार गर्न लागेका छौँ । यसले स्वदेशी चियाको उत्पादन बढाएर आन्तरिकसँगै विश्व बजारमा प्रवद्र्धन गर्न सघाउ पुग्ने विश्वास छ,” उहाँले भन्नुभयो । 

निर्यातको प्रयाप्त सम्भावना हुँदाहुँदै पनि रणनीति नहुँदा निर्यात बढाउन नसकिएको उहाँको भनाइ छ । अन्तर्राष्ट्रिय बजारमा स्वदेशी चियाको माग बढ्दै गए पनि पर्याप्त उत्पादन नहुँदा मागअनुसार निर्यात गर्न नसकिएको बोर्डले जनाएको छ । 

चिया क्षेत्रमा कसरी लगानी बढाउने र बजारीकरण गर्ने विषयलाई रणनीतिमा जोड दिइनेछ । आगामी पाँच वर्षमा चियाको उत्पादन र निर्यात कति गर्ने भनेर रणनीतिमा समावेश गरिने भट्टराईले जानकारी दिनुभयो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बनाएको नेपाल एकीकृत व्यापार रणनीति (एनटीआईएसमा)मा तुलनात्मक लाभ भएका वस्तुमा चियालाई समेत राखिएको छ । 

छ महिनामा साढे दुई अर्बको निर्यात

भन्सार विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको साउनदेखि पुससम्म दुई अर्ब ५१ करोड ६० लाख ६६ हजार रुपियाँको ११ हजार ५४६ मेट्रिक टन चिया निर्यात भएको छ । आव २०७८/७९ तीन अर्ब ४३ करोड ४३ लाख ५० हजार रुपियाँ बराबरको १२ हजार ४९४ मेट्रिक टन चिया निर्यात भएको थियो । 

आव २०७७/७८ मा तीन अर्ब ७९ करोड ७१ लाख रुपियाँको ११ हजार ९२० मेट्रिक टन चिया निर्यात भएको थियो । यसैगरी आव २०७६/७७ मा दुई अर्ब ७८ करोड रुपियाँ बराबरको ११ हजार १८५ मेट्रिक टन चिया निर्यात भएको थियो । 

अमेरिका, स्विजरल्यान्ड, अस्टे«ेलिया, क्यानडा, इस्टोनिया, फ्रान्स, जर्मनी, हङकङ, इटाली, जापान, कोरिया, न्युजिल्यान्ड, साउथ अफ्रिका, स्पेनलगायतका देशमा स्वदेशी चिया निर्यात हुने गर्छ ।

१७ हजार हेक्टरमा चिया खेती

बोर्डका अनुसार आव २०७७/७८ मा १६ हजार ९१७ हेक्टर क्षेत्रफलमा २३ हजार ७४५ मेट्रिक टन चिया उत्पादन भएको थियो । आर्थिक वर्ष २०७६/७७ मा १६ हजार ९०५ हेक्टर क्षेत्रफलमा २४ हजार ११८ मेट्रिक टन चिया उत्पादन भएको थियो । यस व्यवसायमा १६ हजारभन्दा बढी चिया कृषक र ६० हजारभन्दा बढी श्रमिक चियाको मूल्य शृङ्खलामा संलग्न छन् । आन्तरिक बजारसँगै अन्तर्राष्ट्रिय बजारमा खपत बढ्दै गएपछि व्यवसायिक रूपमा चिया खेती बढ्दै गएको छ । 

पूर्वी नेपालका झापा, इलाम, पाँचथर, धनकुटा, तेह्रथुम, भोजपुर, झापालगायतका जिल्लामा ठूलो क्षेत्रफलमा चिया खेती हुने गरेको छ । यस्तै भोजपुर, सङ्खुवासभा, मोरङ, उदयपुर, ओखलढुङ्गा, खोटाङ, सिन्धुपाल्चोक, नुवाकोट, ललितपुर, रामेछाप, दोलखा, सिन्धुली, काभ्रे, धादिङ, चितवन, कास्की, लमजुङ, म्याग्दी, गोरखा, पर्वतमा चिया खेती हुने गर्छ । सुरुमा पूर्वी जिल्लामा हुने चिया खेती पछिल्लो समय अन्य जिल्लामा विस्तार हुँदै गएको छ । नेपालमा अर्थाेडक्स र सीटीसी चिया उत्पादन हुने गर्छ । याे समाचार गाेरखापत्र दैनिकमा प्रकाशित भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *