लुम्बिनी केबलकारको परीक्षण सुरु

न्भेष्टाेपेपर । जेठ ६, २०८०

बुटवल ।  लुम्बिनी केबलकारले बुटवलमा परीक्षण सुरु गरेको छ। बुटवल उपमहानगरपालिका–३, बमघाटमा तल्लो स्टेसन र पाल्पाको तिनाउ गाउँपालिका वडा–३, वसन्तपुरमा अन्तिम स्टेसन रहेको केबलकारको लम्बाइ कुल दुई किलोमिटर छ सय मिटर छ। 

अहिले केबलकारको परीक्षण सञ्चालन भइरहेको र जेठ १५ देखि व्यावसायिक रूपमा सञ्चालन गर्ने तयारी गरिएको लुम्बिनी केबलकार प्रालिले जनाएको छ।  

विसं २०७७ मा शिलान्यास भएको करिब तीन वर्ष तीन महिनापछि केबलकार उद्घाटन गरिने भएको छ। लुम्बिनी केबलकार प्रालिका आयोजना प्रमुख गोकुल साउदले जेठ १५ गतेबाट केबलकार व्यावसायिक रूपमा सञ्चालन हुने बताउनुभयो। 

लुम्बिनी केबलकारको कुल लागत साढे तीन अर्ब रुपियाँ रहेको छ। केबलकार सञ्चालनसँगै टप स्टेसनमा बन्दै गरेको कामाख्या मन्दिरमा एक हप्तासम्म पूजाआजा गर्ने कार्यक्रम छ। 

यसअघि वैशाखमा सञ्चालनमा ल्याउने भनिए पनि प्राविधिक काम सम्पन्न नभएकाले जेठ दोस्रो सातादेखि सञ्चालनमा ल्याउने गरी धमाधम काम भइरहेको आयोजना प्रमुख साउदले जानकारी दिनुभयो।

केबलकार सञ्चालनमा आएसँगै वसन्तपुर डाँडामा पाँचतारे होटल, बाल उद्यान, जिपलाइनलगायत संरचना निर्माण हुने उहाँले बताउनुभयो। लुम्बिनी केबलकारमा ‘मोनोकेबल डिट्याचेबल सिस्टम’ का २५ वटा ‘गोन्डाला’ रहेका र यिनबाट दैनिक छ हजार यात्रु ओसारपसार गर्न सकिने बताइएको छ। 

अहिले परीक्षणका लागि १५ वटा ‘गोन्डाला’ प्रयोग गरिएको छ। एउटा ‘गोन्डाला’ मा आठ यात्रु बस्न मिल्ने बताइएको छ।

केबलकारको तल्लो स्टेसन समुद्री सतहबाट २३० मिटर र टप स्टेसन ९४० मिटरको उचाइमा छ। तल्लो स्टेसनबाट माथिल्लो स्टेसनमा पुग्न करिब १० मिनेट लाग्ने केबलकार प्रालिले जनाएको छ। 

भारतीय सीमाबाट नजिक भएकाले गर्मी मौसममा शीतलताका लागि र जाडो मौसममा न्यानोका लागि भारतको गोरखपुर, लखनउसम्मका पर्यटक यहाँ आकर्षित हुने विश्वास लिइएको छ। 

नेपाल सरकारले बुटवलदेखि वसन्तपुरसम्मको करिब तीन किलोमिटर बीचमा पर्ने ६.२७ हेक्टर वन क्षेत्र प्रयोग गर्न लुम्बिनी केबलकारलाई २५ वर्षका लागि भोगाधिकार दिएको छ। याे समाचार गाेरखापत्र दैनिकमा प्रकाशित भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *