नेपालमा लगानीका लागि दक्षिण कोरियालाई चेम्बरको आग्रह

न्भेष्टाेपेपर । असार २९, २०८०

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानीका लागि दक्षिण कोरियासँग आग्रह गरेको छ । नेपालका लागि दक्षिण कोरियाली राजदूत थेयङ पार्कसँग काठमाडौंको जमलस्थित चेम्बर भवनमा भएको भेटवार्तामा अध्यक्ष राजेन्द्र मल्लले औद्योगिक एवं व्यापारिक सहकार्य अभिवृद्धि गर्न आग्रह गरेका हुन् ।

‘दुई मुलकबीचको कूटनीतिक सम्बन्ध ५० वर्ष पुग्न लागेको छ । लगानी वृद्धि र व्यापारिक साझेदारीमार्फत आपसी सहकार्यलाई थप बलियो बनाउन आवश्यक छ,’ अध्यक्ष मल्लले भने । नेपालको जलविद्युत्, पूर्वाधार क्षेत्र, पर्यटन एवं प्रविधिको क्षेत्रमा लगानीको वातावरण बनाउन नवनियुक्त राजदूत थेयङसँग उनले आग्रह गरे । भारत, बंगलादेश जस्ता देशमा नेपालको विद्युत्को उच्च माग रहेको भन्दै उनले लगानी प्रतिफलको सुनिश्चितता रहेको समेत बताए ।

दुई मुलुकबीच हवाई सञ्जाल विस्तार गर्नुपर्नेमा अध्यक्ष मल्लले राजदूत पार्कको ध्यानाकर्षण गराए । ‘हवाई सञ्जाल विस्तार गरेर दुवै देशमा पर्यटकीय गतिविधि बढाउन सकिन्छ, यसले दक्षिण कोरियामा रहेका नेपाली कामदारलाई पनि थप लाभ हुन्छ,’ उनले भने ।

अध्यक्ष मल्लले घरेलु, हस्तकला लगायत साना र मझौला उद्योगमा लगानी गर्न समेत राजदूत पार्कलाई आग्रह गरे । सेवा क्षेत्र, पर्यटन, कृषि लगायत नेपालका विभिन्न आयोजनामा दक्षिण कोरियाले हालसम्म १२ अर्ब ८१ करोड रुपैयाँ लगानी गरेको छ, जसबाट १२ हजारभन्दा बढीले रोजगारी पाएका छन् । यस वर्ष दक्षिण कोरियाबाट ११ हजार पर्यटक भित्रिएका छन् ।

भेटवार्तामा राजदूत थेयङले आफ्नो कार्यकालमा नेपालसँगको कूटनीतिक तथा आर्थिक सम्बन्ध थप बलियो बनाउने प्रतिबद्धता व्यक्त गरे । ‘नेपाल र दक्षिण कोरियाको सम्बन्ध आगामी वर्ष ५० वर्षमा पुग्दै छ,’ उनले भने, ‘नागरिक नागरिकबीचको सम्बन्धलाई अझ दिगो बनाउन दुवै देशले सहकार्य बढाउनुपर्छ ।’ नेपालमा उत्पादन वस्तुहरू वातावरणमैत्री भएको भन्दै उनले यहाँ उत्पादित वस्तु आफ्नो मुलुकमा निर्यातका पहल गर्ने बताए । याे समाचार आजकाे आर्थिक अभियानमा प्रकाशित भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *