संयाेग : आज साउने संक्रान्ति, सोमबारे औँसी पनि

न्भेष्टाेपेपर । साउन १, २०८०

काठमाडौं  । आज साउने संक्रान्ति। सूर्य कर्कट राशिमा प्रवेश गर्ने दिन भएकाले यो दिनलाई कर्कट संक्रान्ति पनि भनिन्छ। ​

निरयण सिद्धान्तअनुसार सूर्य दक्षिणायन हुने भएकाले ज्योतिष तथा धर्मशास्त्रमा यो दिनलाई महत्त्वपूर्ण मानिन्छ।साउने संक्रान्तिसँगै नेपालीहरूको अधिकांश चाडपर्व शुरु हुने भएकाले पनि यसको महत्त्व रहेको छ।

यो दिन सबेरै उठी स्नान गरी सूर्यलाई जल अर्पण गरी ब्राह्मण–पुरोहितबाट संक्रान्तिफल सुन्ने चलन छ। गाउँघरमा साँझपख यो दिन लुतो फ्याँक्ने गरिन्छ। अमिला फल, कुरिलो, कुकुर डाइनो, भलायोलगायतका वनस्पति बिहानै घरमा ल्याएर राख्ने र साँझतिर अगुल्टोसहित लुतो फ्याँक्ने चलन छ।

यसरी लुतो फ्याँक्नाले वर्षभरि रोगब्याधिबाट मुक्ति पाइने विश्वास छ। कतिपय स्थानमा साउने संक्रान्तिमा तिउरी कुटेर रस हातगोडाका नङमा लगाउने चलन पनि छ। 

किरात समुदायमा एकाबिहानै वन जंगलतिर गई फलफूल खोजेर ल्याई घरको मूल ढोकामा झुण्ड्याउने चलन छ। साँझपख थाल नाङ्लो र ढोल बजाइ भूतप्रेत भगाइन्छ। यस्तै सुदूर पश्चिमतिर पनि अगुल्टो फ्याँक्दै खराब तत्त्वलाई भगाउने चलन छ। 

साथै यस महिनामा अत्यन्त वर्षा हुने भएकोले यसलाई पावस रितु पनि भनिन्छ । यसै महिनाका विभिन्न तिथीमा हरितालीका तिज, रक्षाबन्धन, नागपञ्चमी आदि थुप्रै महत्वपूर्ण चाडहरु पर्दछन् । यो भगवान शिवको महिना हो, यसै कारणले यस महिनाको हरेक सोमबार अविवाहित महिलाहरुले व्रत बस्ने र राम्रो वर पाउने भनि शिवको आराधना गर्ने चलन पनि रहि आएको छ ।

साथै साउनमा महिलाहरुले हरियो चुरा, रातो, पहेँलो वस्त्र, मेहन्दी लगाउँछन् । यो रंगीन महिनाको शुरुवात भनेकै कर्कट संक्रान्ति हो । हरियो रङ्गमा यस पर्वको विशेष अर्थ रहेको पाइन्छ । आफूले चाहेजस्तो जीवनसाथीको आकांक्षा र यसका अलावा परिवारजनमा सुख, शान्ती र कान्ती छाइरहोस् भनेर पनि रंगीन चुराहरु लाउने गरिन्छ ।

आजै सोमबारे औँसी

औँसी तिथि र सोमबार एकै दिन परेको दिन सनातन धर्मावलम्बीले सोमबारे औँसी मनाउँछन्। यस्तो संयोग परेको दिनलाई ‘मौनी औँसी’ पनि भनिन्छ । वैदिक परम्परामा औँसीलाई पितृको पर्व मानिन्छ।

यो दिन तर्पण, श्राद्ध गर्ने वा पितृका नाममा दान गर्ने विधान छ। पुराण र ज्योतीषीय ग्रन्थमा सोमबारको औँसीमा बिहान सबेरै उठेर नबोली नुहाउने भगवान् शिव वा विष्णुको आराधना गर्ने, दान गर्नेलगायत कर्म गर्नुपर्ने बताइएको छ।  यो दिन तुलसी वा पिपलको पूजा गरी प्रदक्षिणा गर्ने विधान छ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *