नेम्वाङको अन्त्येष्टी राजकीय सम्मानका साथ विहीबार गरिने, सार्वजनिक बिदाकाे घाेषणा

न्भेष्टाेपेपर । भाद्र २७, २०८०

काठमाडौं ।  नेकपा (एमाले) का उपाध्यक्ष, संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको अन्त्येष्टी भाेली भदौ २८ गते बिहीबार गरिने भएको छ । 

संविधान सभाका अध्यक्ष तथा प्रतिनिधि सभाका पूर्व सभामुख समेत रहनुभएका नेम्वाङको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टी गरिने छ ।

हिजाे दिनभर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई, मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी पार्टी कार्यालय जानुभई स्व. नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो ।

त्यसैगरी, नेपाल सरकारका मन्त्रीहरू, सांसदहरू, विभिन्न राजनीतिक दलका नेताहरू, नेपाली सेनाका प्रधान सेनापतिलगायत विभिन्न सुरक्षा निकायका प्रमुख र पदाधिकारीहरू, विभिन्न कूटनीतिक नियोगका प्रमुखहरू तथा उच्चपदस्थ अधिकारीहरू सहित ठूलो सङ्ख्यामा पार्टीका नेता, कार्यकर्ता र सर्वसाधारणले स्व. नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो । 

श्रद्धाञ्जली अर्पणका लागि स्व. नेम्वाङको पार्थिव शरीर अाज दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय, च्यासलमा राखिने छ भने त्यसपछि पारिवारिक तथा धार्मिक संस्कारका लागि बालुवाटारस्थित निवासमा राखिने भएको छ । 

नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको निधनमा बिहीबार राष्ट्रिय शोक प्रकट गर्न देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। उक्त दिन नेपालभरका सरकारी कार्यालयहरू, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको हो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *