राष्ट्रपतिद्वारा नवनियुक्त प्रधानन्यायाधीश राणालाई शपथ तथा अाजै पदभार ग्रहण
Investopaper, January 2, 2019
राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ। शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजना गरिएको विशेष समारोहका बीच राष्ट्रपति भण्डारीले नवनियुक्त प्रधानन्यायाधीश राणालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।
सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, सर्वोच्च अदालतका न्यायाधीशलगायतको उपस्थिति रहेको थियो ।

शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनियताको शपथ लिएपछि जबराले सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गर्नु भएकाे छ । वहांलाई सर्वोच्च अदालतमा न्यायाधीश, कर्मचारीलगायतले स्वागत गरेका थिए । उमेरहदका कारण प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले मङ्गलबारबाट अवकाश लिएपछि नेपालको २९औँ प्रधानन्यायाधीशको रूपमा कार्यभार सम्हाल्ने अवसर राणालाई प्राप्त भएको हो ।
नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपकराज जोशीलाई बुधबारदेखि मुद्दामा पेसी नतोक्ने घोषणा गर्नु भएकाे छ । वहांले बुधबार पत्रकार सम्मेलनमा भन्नुभयाे, ‘न्यायालयको जनआस्थालाई माथि उठाउनका लागि मैले जोशीलाई पेसी नतोक्ने कठोर निर्णय लिएको हुँ ।’ न्यायाधीश दीपकराज जोशी प्रधानन्यायाधीशका लागि गत जेठ २९ गते संवैधानिक परिषदकाे सिफारिशमा परे पनि संसदीय सुनुवाइबाट अस्वीकृत हुनुभएकाे थियाे भने यस पटक पनि संवैधानिक परिषदकाे सिफारिश लिष्टमा हुनुहुन्थ्याे ।
