१९औँ एसियाली खेलकुद : नेपाललाई कबड्डीमा पदक पक्का

न्भेष्टाेपेपर । असाेज १७, २०८०

काठमाण्डाैँ । चीनकाे हाङझाउ सहरमा जारी  १९औं एसियाली खेलकुद (एसियाड) मा नेपालले महिला कबड्डीमा कम्तीमा कांस्य पदक पक्का गरेको छ । 

समूह ‘बी’ अन्तर्गत हाङझाउस्थित साओशन गुआली स्पोर्ट्स सेन्टरमा बुधबार इरानले  बङ्गलादेशलाई  ५४–१६ ले हराएपछि नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो । सेमिफाइनलमा प्रवेश गर्ने टोलीले कम्तीमा कांस्य पदक पाउनेछन् । समूह ‘ए’ मा दक्षिण कोरिया, भारत, चाइनेज ताइपेइ र थाइल्यान्ड रहेका छन् । 

महिला कबड्डीको समूह ‘बी’ मा रहेको नेपालले पहिलो खेलमा बङ्गलादेशलाई ३७–२४ ले हराएको थियो । दोस्रो खेलमा भने मङ्गलबार नेपाल साविक विजेता इरानसँग ४३–१९ ले पराजित भएको थियो । लगातार दुई जितसँगै इरान समूह विजेता र नेपाल उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

नेपालले महिला कबड्डीलाई पहिलो पटक एसियाडमा सहभागी गराएको हो । सेमिफाइन र फाइनलमा समेत राम्रो गर्न सके नेपालले महिला कबड्डीबाट कांस्यभन्दा माथिको पदक हात पार्नेछ । महिला कबड्डीका खेलाडीहरुमा मेनुका राजवंशी (कप्तान), अनुजा राई, जयन्ती बडु, गङ्गा घिमिरे, रविना चौधरी, अर्पना चौधरी, सिर्जनाकुमारी थारु, कलावती पन्त, इशा राई, सुनीता थापा, नितु गुरुङ र मनमती विष्ट रहेका छन् ।

एसियाडमा नेपालबाट सहभागी २९ खेलमध्ये पदकको आशा गरिएको खेलमा अहिलेसम्म पदकविहीन रहे पनि महिला कबड्डीमा एक पदक पाउने छ । नेपालले अब कराते, डान्सिङ र कुस्तीका खेल खेल्न बाँकी छ । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *