चैतेधान उत्पादन बढाएर आयात घटाउने अभियान चलाउनुपर्छ : मन्त्री भुसाल

न्भेष्टाेपेपर । असाेज २६ २०८०

काठमाडौँ । कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसालले किसानलाई ‘चैते धान अभियान’ चलाउनुपर्ने बताउनुभएकाे छ । ‘जीवन र खाद्यको आधार हो पानी’ भन्ने नारासहित कृषि विभागले आयोजना गरेको ४३औँ विश्व खाद्य दिवसमा उनले भारतले धान निर्यात बन्द गरेको उल्लेख गर्दै एक लाख हेक्टर जमिनमा चैते धान अभियान चलाउनुपर्ने बताउनुभयाे ।

‘भारतले निर्यात गर्ने धानको अभाव पूर्ति गर्न एक लाख हेक्टर क्षेत्रफलमा चैते धान लगाऊँ । छ लाख मेट्रिक टन धान उत्पादन गरौँ’, मन्त्री भुसालले भन्नुभयाे, ‘सिँचाइ, आवश्यक कृषि औजार र मलको समस्या समाधान गरियो भने खाद्यमा समस्या हुँदैन । रासायनिक मलको कटौती गरेर प्राङ्गारिक तथा जैविक मलमा वृद्धि गर्नुपर्छ ।’ बगेको पानीको सही व्यवस्थापन गरेर कृषिमा प्रयोग गर्न सके सिँचाइको समस्या नहुने उहाँले दाबी गर्नुभयाे । 

‘उन्नत बीउको प्रयोग गर्ने र सिँचाइको व्यवस्था गरेमा सन् २०३५ सम्ममा हामी खाद्यमा आत्मनिर्भर हुन सक्छौँ’, मन्त्री भुसालले भन्नुभयाे, ‘पूर्व–पश्चिम नहर निर्माण गरेर मात्र कृषि क्रान्ति हुन्छ ।’ 

कार्यक्रममा मन्त्रालयका सचिव डा रेवतीरमण पौडेलले साना किसानले उत्पादन गरेको वस्तुलाई उद्योगका रूपमा रूपान्तरण गर्न जरुरी रहेको बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘साना किसानलाई एकजुट गरेर उत्पादन गरेको कृषि सामग्रीलाई उद्योगमा रूपान्तरण गर्नुपर्छ ।’ पौडेलले किसानलाई वित्तीय सहयोग गर्न कृषि विकास बैंकले सहयोग गर्नुपर्नेमा जोड दिनुभयाे।

राष्ट्रिय किसान आयोगका अध्यक्ष डा प्रेम दङ्गालले किसानको सङ्ख्या बढेको तर जमिन घटेकाले कृषि उत्पादनमा कमी आएको भन्दै यसले कृषि क्षेत्रमा ठूलो चुनौती देखिएको बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘कृषिमा क्रान्ति गर्नको लागि कृषि नीतिलाई सच्याउनुपर्छ । खेतीमा गरिने खर्चको कमी गरेर उत्पानमा वृद्धि गर्न सके मात्रै किसानलाई फाइदा हुन्छ ।’ उहाँले सरकारले किसान लक्षित कार्यक्रमहरू ल्याउनुपर्नेमा जोड दिनुभयाे ।

बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख रामकृष्ण श्रेष्ठले वर्षात्को पानी संकलन गरी सिँचाइ गर्नुपर्ने बताउनुभयाे। उहाँले छानाको पानी संकलनदेखि रिचार्ज पोखरी निर्माणविधि अपनाएर पानीको संरक्षण गर्न सकिने धारणा राख्नुभयाे ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *